arrow

मोबाइल व्यवसायी आन्दोलितः सामसुङ मोबाइलको भिजिबिलिटी देशभर बन्द 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
Samsung_Logo.png
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघले आजबाट देशभर सामसुङ नेपालका मोबाइल फोनको भिजिबिलिटी बन्द गर्ने घोषणा गरेको छ।

व्यवसायीले उठाएको मुद्दालाई बेवास्ता गरेको र कार्यक्रम नै बिथोलिन पुगेको भन्दै व्यवसायीहरुको छाता संगठन महासंघले सामसुङ नेपालविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। 

सुदूरपश्चिमको धनगढीमा गत भदौ २० गते सामसुङ नेपालले सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका मोबाइल व्यवसायीका लागि लक्षित गर्दै आयोजना गरेको रिटेल मीट कार्यक्रममा व्यवसायीहरुले मार्जिनको विषय उठाउँदा कार्यक्रम नै भाँडिएको थियो। सो कार्यक्रम व्यवसायीहरुले बहिष्कार नै गरेका थिए ।

नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले महासंघ केन्द्रले उठाएको विषय प्रदेश संरचनाबाट उठ्नु स्वभाविक भएको र उठेका मुद्दालाई समन्वय गर्नु पर्नेमा कार्यक्रम आयोजकले त्यसलाई सम्बोधन गर्न नसक्नु दुःखद भएको बताए ।

`व्यवसाय सम्बन्धी कुनै पनि विषय कार्यक्रमका शिलशिलामा उठ्छन्, मार्जिनको विषय त केन्द्रको चासोको विषय नै थियो,त्यो स्वभाविक पनि हो, कार्यक्रममा उठेका विषयलाई सामसुङ नेपालले सम्बोधन गर्नु पर्नेमा वातावरण झन बिथोल्ने अवस्था बन्यो, यो सुखद होइन´, महासंघका केन्द्रीय अध्यक्ष भट्टराईले भने।

महासंघले सोही विषयलाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जस अनुसार आज र भोलि देशभर सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी(मोबाइल डिस्प्ले) पसलबाट  हटाउने र यो दुई दिनमा पनि कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाइए थप दुई दिन (२८ र २९ भदौ) कम्पनीका व्यवसायीक प्रतिनिधि (प्रमोटर) लाई फिर्ता पठाउने निर्णय भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

महासंघका उपाध्यक्ष रमेश घिमिरेले महासंघले उठाएको विषयलाई सम्बोधन गरेर वातावरण सहज बनाउने दिशामा कम्पनीले चासो नदिए पहिलो चरणको दबाबमूलक कार्यक्रमपछि थप कार्यक्रम घोषणा गरिने बताए ।

धनगढीमा आयोजित रिटेल मीटमा व्यवसायीहरुले मोबाइल बिक्री गर्दा प्राप्त गर्ने मार्जिन बढाउन आग्रह गरेका थिए। तर सामसुङ नेपालका प्रतिनिधिहरुले भने सो विषयका लागि कार्यक्रम आयोजना नगरिएको भन्दै व्यवसायीहरुलाई जुन कार्यक्रमका लागि बोलाइएको त्यो बाहेक अन्य विषयमा छलफल नै नहुने जवाफ दिएका थिए। 

महासंघका सुदुरपश्चिम अध्यक्ष सुरेश सापकोटाले आयोजकले व्यवसायीहरुलाई अपमानित व्यवहार गरेकाले त्यसपछी व्यवसायीहरु कार्यक्रम नै बहिष्कार गरेर हिँडेको बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ