- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली राजनीतिलाई नयाँ दिशा दिन सफल विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष एवम विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाका नाममा वृत्तचित्र (चलचित्र) निर्माण हुने भएको छ ।
उज्वल थापा फाउन्डेसनले उज्वल थापाका बारेमा वृत्तचित्र बनाउन लागेको हो । कोरोना भाइरसको संक्रमणका कारण उनको २०७८ साल जेठ १८ गते निधन भएको थियो ।
४४ वर्षको अल्पायुमै उनको निधन भएको हो । २०३३ साल पुस २३ गते जन्मिएका उज्वलले बुढानीलकण्ठ स्कूलबाट माध्यमिक शिक्षा हासिल गरेका थिए ।
क्याम्ब्रिज विश्वविद्यालयमा ए–लेभल गरेका उनले पछि खगोल र भौतिक विज्ञान विषयमा स्नातक पनि गरेका थिए । सन् १९९६ मा अध्ययनका लागि अमेरिका गएका उनी सन् २००१ मा नेपाल फर्किएका थिए ।
बौद्धिक वर्ग र युवायुवतीलाई आकर्षित गरेका उज्वलले हरेक आन्दोलनमा ढुंगामुढा होइन शान्तिपूर्ण तरिकाले, छातीमा प्लेकार्ड टाँसेर र सडक छेउँमा उभिएर गर्नुपर्छ भन्ने सिकाएका थिए ।
अमेरिकामा मल्टिमिडियाबारे पनि अध्ययन गरेका उनले नेपालमा आएर मल्टिमिडिया कम्पनी नै सञ्चालनमा ल्याएर सयौँ युवालाई आफूसँग जोडेका थिए ।
२०६८ सालदेखि नै नेपाल खुला छ अभियान चलाएका उनले नेपाल कहिल्यै बन्द छैन भनेर प्रचार गर्ने गर्थे । पहिलो संविधान सभा असफल भएपछि उनले ‘ज्याला पूरा लियौ, अब संविधान देऊ’ भन्ने नारा घन्काएका थिए ।
वैकल्पिक शक्ति बनाउन भन्दै थापाले विवेकशील नेपाली दल संविधान सभाको दोस्रो निर्वाचन लगत्तै २०७१ सालमा निर्वाचन आयोगमा दर्ता गराएका थिए ।
दोस्रो संविधान सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा कुकुर चुनाव चिह्न लिएर काठमाडौं–५ बाट चुनाव लडेका थिए ।
पछि उज्वलको नेतृत्वमा रहको विवेकशील नेपाली दल र रविन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टीबीच एकता भएको थियो । उज्वलले आफ्नै नेतृत्वमा लोकतन्त्रलाई जिवित राख्न भन्दै ‘संसदमा ब्याप्त लुटतन्त्रलाई निरन्तरता दिने कि विकल्प रोज्ने ?’ अभियान छेडेका थिए ।
उनको राजनीतिलाई अन्य दलका शीर्ष नेताहरुले ‘आदर्श राजनीति’ भनेर व्याख्या गरेका थिए ।
कसरी बन्दैछ चलचित्र ?
उज्वल थापाको चलचित्र उज्वल थापा फाउन्डेसनले निर्माण गर्न लागेको हो । यो चलचित्रमा उज्वल थापाको बाल्यकालदेखि अन्तिम अवस्थासम्मको उतारचढाव, आरोह अवरोह र राजनीतिक सोचलाई देखाइने छ ।
फाउन्डेसनकी कार्यकारी संयोजक रक्षा बमका अनुसार एउटा सामान्य मानिस कसरी राजनीतिमा आउन सके र उनले समाजलाई के प्रभाव छाडेर गए भनेर देखाइने छ ।
नयाँ पुस्तालाई उनले कस्तो किसिमको शिक्षा दिए भनेरसमेत पनि चलचित्रमा देखाइनेछ । पहिलेको राजनीतिक सोच र उनले थालेको राजनीतिक सोचले बदलेको युवाको मनलाई सूक्ष्म ढंगले देखाइने छ ।
भावी पुस्तालाई उज्ज्वल थापा को हुन् भनेर देखाउन पनि यस चलचित्रले मद्धत गर्ने बमको विश्वास छ ।
तयारी कस्तो छ ?
बमका अनुसार डेढ वर्षदेखि नै चलचित्रका लागि काम भइरहेको छ । स्क्रिप्ट लेखेर सकिएको छ । अब भिडियो खिच्ने, पहिलेका भिडियो संकलन गर्ने क्रम रहने छ ।
यो वृत्तचित्र शैलीको चलचित्र हो । यसको विषयवस्तु ‘सिम्प्लिसिटी र इन्स्पिरेशन’ रहेको छ ।
७० देखि ८० लाख रुपैयाँमा बनाउने तयारी रहेको छ । यो डेढ घण्टा लामो हुनेछ ।
सुदीप भाजूले निर्देशन गर्ने वृत्तचित्र फिल्म हलमै विशेष प्रदर्शी गरी देखाइने छ । विभिन्न महोत्सवमा पनि देखाइनेछ भने विदेश लगेरसमेत उक्त वृत्तचित्र देखाइने छ ।
यो वृत्तचित्र आगामी वर्षको जुनसम्म अर्थात् २०८२ सालको असारसम्म सक्ने तयारी फाउन्डेसनको छ ।
अब सुटिङ गर्ने तयारी रहेको छ ।
करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान रहे पनि हालसम्म ४१ प्रतिशत रुपैयाँमात्र चन्दा संकलन भएको छ ।
उज्वलले जहिले पनि सामाजिक पूँजीको कुरा गर्दथे । उनले खडा गरेको दल पनि सामाजिक पूँजीबाटै चल्दथ्यो । यसलाई उनले सबैको स्वामित्व रहोस् भनी चाहेका थिए ।
स्वदेश र विदेशबाट संकलन गरेको रकमले नै चलेको थियो । तसर्थ यसपटक उनको आदर्शलाई जीवित राख्न तयार हुन थालेको उनको जीवनी समेटिएको चलचित्र पनि चन्दाबाटै बनाउने फाउन्डेसनले जनाएको छ ।
कार्यकारी संयोजक बम चलचित्रको छायांकन शुरु हुन थालेपछि रकम संकलन छिटो छिटो हुने विश्वास राख्छिन् ।