arrow

उज्वल थापा वास्तवमा नेताहरूका पनि नेता थिए

logo
सुदिप आचार्य
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
sudip-acharya-dishhome1623309165.jpg

हुन त उज्वल थापासँग बुढानीलकण्ठ स्कुल पढ्दा खासै ख्याल गरेको रहेनछु । उनी हामीभन्दा जुनियर थिए । पछि म विदेश गइहालें । फर्किएर आएपछि केही साथीहरूले उनको बारेमा कुरा गरिरहेका थिए । आइटी क्षेत्रमा काम गरिरहेका रहेछन् । मलाई पनि उनको आइटी कम्पनीसँग सहकार्य गर्न सुझाव आएको थियो । पछि उनले विवेकशील साझा मञ्च गठन गरेपछि उनीसँग अलिक नजिक हुने मौका मिल्यो । बिस्तारै भेटघाट बाक्लियो । उनले म सँग भेट्दा विशेषगरी आइटी क्षेत्रका विषयमा कुराकानी गर्थे । राजनीतिका बारेमा चाहिं उनको बेग्लै सोचाइ थियो । उनी हरेक भेटमा ‘आर्थिक रूपमा सक्षम भएर मात्र राजनीतिमा लाग्नुपर्छ’ भन्ने गर्थे ।

विवेकशील गठन गर्दा हामीले विभिन्न तरिकाले सहयोग गरेका थियौं । परामर्श दिएका थियौं । तर उनले हामी कसैलाई पार्टीमा आइदिनुहोस्, आर्थिक सहयोग गरिदिनुहोस् भनेर भनेनन् । वास्तवमा उनी धेरै लिबरल थिए । सारै सामान्य थिए । व्यवहार साँच्चै लोभलाग्दो थियो । पार्टीमा लाग्नुपर्छ भनेर कहिल्यै दबाब दिएको थाहा छैन । पार्टीको सोच, लक्ष्य र सिद्धान्त मनपरे मान्छेहरू आफैं आकर्षित हुन्छन् भन्ने सोच राख्थे । आफ्नै विवेकले पार्टीमा सक्रिय बन्नुपर्छ भन्ने सोचाइ राख्थे । भाषण अर्थात् विचार लाद्ने वा दबाब दिने किसिमको स्वभाव थिएन । हाम्रो सहयोग केही चाहिन्छ ? भनेर सोध्दा पनि कहिल्यै हात फिजाएनन् । पार्टी सञ्चालनका लागि सहयोगको आव्हान गर्दै सामाजिक सञ्जालमा सूचना राखे तर व्यक्तिगत रूपमा सहयोग मागेनन् ।

एकताका भरतमोहन अधिकारीलाई भेट्न उनी र म सँगै गएका थियौं । भरतमोहनसँग धेरै कुरा भएको थियो । उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभएको थियो-‘हामीले आन्दोलन गर्दा पाँच जना मान्छे भेला गर्न कठिन हुन्थ्यो, तिमीहरूसँग त ऊर्जा छ, साथमा मान्छेहरू छन् । जनमत राम्रो पाएका छौं । निराश नहुनु, गन्तव्यमा पुग्नेछौ’ भनेर हौसला दिनुभएको थियो । मलाई भरतमोहनको स्वभाव पनि सरल लाग्छ । विचार लाद्ने स्वभाव उहाँमा पनि छैन । ठ्याक्कै उज्वलको पनि स्वभाव त्यस्तै थियो । भरतमोहनसँगको स्वभावसँग तुलना गर्न सकिन्छ ।

उनीहरूले राजनीतिक र सामाजिक जागरण थालिसकेपछि बेला बेला म जिस्क्याउने गर्दथें-‘खै तिमीहरू कहाँ पुग्यौ ?’ आन्दोलन कहाँ पुग्यो ? तिमीहरूको पनि यत्तिकै उमेर जाने भो ।’ त्यसो भन्दा उनी कहिल्यै आत्तिएनन् । निराश देखिएन । ‘१० बर्षको मिसन लिएका छौं । यो सय मिटरको दौड होइन, म्याराथन दौड हो’ भनिरहन्थे । अवश्य सफल हुनेछौ भन्ने गर्दथे । उनीसँग निश्चित खाका र धारणा थियो । सफल हुने अभिलाषा थियो । उनी हरेक युवाहरूलाई आर्थिक रूपमा सक्षम भएर मात्र राजनीतिक र सामाजिक जागरणमा लाग्न प्रेरित गर्दथे । हरेक कुरामा युवाहरूलाई हौसला प्रदान गर्दथे ।

उनीसँग म नियमित सम्पर्कमा रहन्थें । भेट नभए पनि फोन सम्पर्क भइरहन्थ्यो । दुई-तीन महिनामा भेट भइरहन्थ्यो । अहिले त्यो भेट सधैंका लागि अन्त्य भएको छ । अत्यन्तै पीडा महसुस हुन्छ । पछिल्लो पटक कोभिड उपचारका लागि सैनिक अस्पतालमा रहेको बेला गफ भएको थियो । उनलाई मैले ‘आत्मबल बलियो बनाउनु, निराश नहुनु’ भनेको थिएँ । धेरै कुरा गरिन । विरामी भएको बेला धेरै कुरा गर्नु हुँदैन भन्ने लाग्यो । सैनिक अस्पतालमा खासै उपचार राम्रो नभए जस्तो लागेर अस्पताल परिवर्तन गराउँ भनेर धेरैलाई परामर्श पनि गरेको थिएँ । सहयोग जुटाउन मिडियामा जाऔं भन्ने सल्लाह पनि गरेको हो तर उनले नै इच्छा देखाएनन् । मिडिया बाजी गराउनै चाहेनन् । त्यो नै कमजोरी भयो कि जस्तो लाग्छ । मिडियामा गएको भए कतैबाट चाँडै उपचारका लागि सहयोग जुटिहाल्थ्यो कि, यस्तो पीडा भोग्नु पर्दैनथ्यो कि भन्ने खड्की रहन्छ ।

हुन त म उनको सामाजिक र राजनीतिक जागरणमा लाग्न र सक्रिय हुन पाइन । उनले पनि कहिल्यै प्रेसर गरेनन् । हरेक मानिस आफ्नो सोच राखेर, विवेक प्रयोग गरेर मात्र पार्टीमा सक्रिय हुनुपर्छ भन्ने उनको दूरदर्शी सोच थियो । उनको धारणा नै पृथक् थियो । सोच नै भिन्न थियो । बोली बचन सामान्य थियो । हरेक मानिससँग गफ गर्दा वा कन्भिन्स गर्दा सोच्न बाध्य बनाउने क्षमता राख्दथे । वास्तवमा उनी लिडरहरूको पनि लिडर जस्तो लाग्छ । यस्तो गुण हाम्रा नेताहरूमा विरलै मात्र पाइन्छ । तर उनको जस्तो क्षमता, युग र समाज सुहाउँदो विचार अब नेपाली माटोले जन्माउला भनेर धेरै आश गर्न सकिँदैन । प्रस्तुति: युवराज गौतम



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ