arrow
ADVERTISEMENT

प्रतिनिधि सभा बैठक बस्दै, दुवै सदनको चालु अधिवेशन आजै अन्त्य गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
Parliament_building-1619601493.png

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज दिउँसो बस्दैछ । सम्भवतः यो बैठक चालु अधिवेशनको अन्तिम बैठक हुनेछ । 

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म संसदको अवरोध जारी राख्ने अडान राखेपछि आइतबारको बैठक सहमतिका लागि पटक पटक सारे पनि बस्दै नबसी स्थगित हुन पुगेको थियो ।

सहमति नजुटेपछि बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो । सभामुख हिंसा शब्द संसदको रेकर्डबाट हटाउन तयार नदेखिएपछि माओवादी रुष्ट भएको हो । 

योसँगै सत्तागठबन्धनले पनि हिंसा शब्द फिर्ता लिनुभन्दा चालु अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको छ । सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । 

सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

के छ आजको सम्भावित कार्यसूची

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९–०८०’ पेस गर्ने कार्यसूची छ । 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

यद्यपि प्रमुख प्रतिपक्षका माग सम्बोधन नहुँदा यी कार्यसूची प्रभावित हुने निश्चित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ