arrow

कार्यदलले ओली र देउवालाई बुझायो सरकारको न्यूनतम साझा कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २ बुधबार
karyadal-congress-uml-81-6-.jpg

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेको सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।

कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधबार साँझ सिंहदरबारमा न्यूनतम साझा कार्यक्रम सम्बन्धी प्रतिवेदन बुझाएको हो ।

कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रवक्ता डा. प्रकाशशरण महत थिए भने एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका थिए ।

सरकार गठनको दुई महिना भइसक्दा पनि सरकारले न्यूनतम साझा कार्यक्रम तय नगरेको भन्दै आलोचना भएपछि दुई दलले कार्यदल बनाएका थिए ।

कार्यक्रम बुझाएपछि गगन थापाले अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिएर सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारिएको बताए । 

कार्यदलले कार्यक्रमको मस्यौदा ओली र देउवालाई बुझाइसकेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले प्रधानमन्त्रीलाई मस्यौदा बुझाइएको र मन्त्रीपरिषद्ले पारित गरेसँगै सार्वजनिक हुने बताए । 

उनले सरकार बनाउँदा नेपाली कांग्रेस र नेकपा एमालेबीचमा भएको सात बुँदे सहमतिको आधारमा कार्यक्रम बनाइएको बताए । उनले यो साझा कार्यक्रम नभइ दुई वटा राजनीतिक दलहरुको साझा संकल्प र नीतिगत प्रतिबद्धता रहेको बताए । थापाले छिमेकी देशहरुसँगको सम्बन्ध, आफ्ना आफ्ना पार्टीका प्राथमिकताहरु जोड दिइएको बताए । 

संविधान निर्माण गर्ने मुख्य शक्ति नै कांग्रेस र एमाले भएकाले संविधान जोगाउने जिम्मेवारी सबैभन्दा ठूलो आफूहरुकै रहेको बताए । उनले संविधान थप सुदृढ बनाउने गरी संशोधन गर्ने कुरा पनि कार्यक्रममा रहेको बताए । 

संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशी प्रणाली झनै मजबुत बनाउनको लागि हाम्रो अनुभवको वस्तुनिष्ठ समीक्षा गरेर परिमार्जन हुनेकुरा उल्लेख गरिएको बताए । 

उनले अर्थतन्त्र थप गतिशील बनाउने, अलपत्र पूर्वाधार निर्माणलाई गति दिने र मौलिक हक र लैङ्गिक समानता, गरिबी हटाउने, संक्रमणकालीन न्यायका बाँकी कुरा टुंग्याउने विषयलाई जोड दिइएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ