arrow

तीन महिना ढिला गरी शुद्धोधनले ल्यायो ५३ करोड ८६ लाखको बजेट  

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८१ असोज ४ शुक्रबार
suddhodan-gaupalika-budget-81-82.jpg

कपिलवस्तु । शुद्धोधन गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ का लागि ५३ करोड ८६ लाख ८५ हजार २ सय ९० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

लबनी स्वास्थ्य चौकी हलमा नवौँ गाउँसभामा गाउँपालिका उपप्रमुख होमप्रसाद चौधरी कुर्मीले सो बजेट पेश गरेका हुन् । बजेट सर्वसम्मत पास भएको छ । 

बजेट आर्थिक वर्ष २०८०–०८१ भन्दा ३ करोड कम आएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार असार १० भित्र ल्याउनु पर्ने नीति तथा कार्यक्रम र बजेट गाउँपालिकाले भने ३ महिना ढिलो गरी ल्याएको हो । 

आर्थिक विकासतर्फ ५ करोड ४० लाख १० हजार, सामाजिक विकास तर्फ २६ करोड ४१ लाख ३७ हजार, पुर्वाधार विकास तर्फ १० करोड ३१ लाख ९५ हजार २९०, सुशासन तथा अन्तर सम्बन्धित तर्फ १ करोड ४७ लाख ८७ हजार, कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फ १० करोड २५ लाख ५६ हजार बिनियोजित गरिएको छ । 

संघीय, प्रदेशबाट आउने अनुदानमा कमी भएका कारण चालु आर्थिक बर्ष ३ करोड बजेट कम आएको हो । गाउँपालिका प्रमुख कमलेशशरण चौधरीले नीति र कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख ६ वटा बडालाई सम्मानजनक रुपमा बजेट बिनियोजन गरेको बताए । 

गाउँपालिका प्रमुख, उपप्रमुख र वडागत रुपमासमेत बजेट छुट्टाइएको छ । चालु आर्थिक वर्षका लागि आन्तरिक श्रोततर्फ भने ३ करोड ७२ लाख ७६ हजार  उठ्ने अनुमान गरिएको छ । 

बजेटले शिक्षा, कृषि तथा पशुपालनलाई उच्च प्राथमिकतामा राखेको कृषिलाई ब्यवसायीकरण गर्नेतर्फ उन्मुख हुने प्रमुख चौधरीले बताए । 

सामाजिक सुरक्षा र तथा सामाजिक संरक्षण, पूर्वाधार निर्माणतर्फ विशेष जोड दिइएको छ । सिँचाइ, सडक मर्मतमा बजेट खर्च गर्ने कार्यक्रम छ । विपद् र प्राकृतिक प्रकोप बाट हुन सक्ने धन जनको क्षति रोक्न र राहत दिनका लागिसमेत बजेटमा रकम छुट्टाइएको छ । 

कोभिड १९ ले गर्दा मुलुक मै आर्थिक मन्दी चलेका अवस्थामा काम गर्न चुनौती रहेको भन्दै गाउपालिकालाई संबृद्ध बनाउन सहमति सहकार्य, एकता र सामुहिक प्रतिबद्धता सहीत अघि बढने योजना रहेको प्रमुख प्रशाकीय अधिकृत धनिश्वर पौडेलले बताए । 

सभा प्रमुख चौधरीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत पौडेलको आतिथ्यता र ईश्वरी प्रसाद न्यौपानेको संचालनमा भएको हो ।  

गत आर्थिक वर्ष २०८०–८१ मा शुद्धोदन गाउँपालिकामा ८२ दशमलव १९ प्रतिशत बजेट खर्च भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ