- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा प्रादेशिक अस्पताल गौरको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक टोली आवश्यक औषधिसहित पुगेको छ ।
पछिल्लो केही दिनदेखि राजापुर नगरपालिकाको दुई वडामा झाडा पखालाका बिरामीको संख्या बढ्दै गएकाले शनिबार प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हाशमी, डाक्टर मुरारी ठाकुर, इमर्जेंसी इनचार्ज डाक्टर राजेशकुमार सिंह, डाक्टर गोपाल गुप्ता, लगायतको टिम आवश्यक औषधि लिएर स्वास्थ्य चौकी राजपुरमा पुगेको हो ।
राजपुर स्वास्थय चौकी पुगेर डाक्टर मुरारी ठाकुर त्यहाँस्थित डाक्टर स्वास्थ्यकर्मीसँग बिरामीको अवस्था बारेमा जानकारी लिएका थिए । हैजा प्रभावित क्षेत्रमा स्वास्थ मानिस पनि खाना खानुअघि, दिशा गरेपछि राम्ररी हात धुनुपर्ने, तातो पानीको प्रयोग गर्नु पर्ने, बासी सडेगलेको , खुला राखिएको खानेकुरा नखान आग्रह गरेका छन्। त्यस्तै पेट बिगार्ने किसिमको गरिस्ट खाना नखानु हुने उनले आग्रह गरेका छन् ।
पछिल्लो केही दिनदेखि स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ।
राजपुर ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको छ सो मध्ये केही बिरामीमा हैजाको जस्तो संकेत देखा परेको हो। बिहीबार र शुक्रबार र आज २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा गएका थिए ।
तीमध्ये ७ जना बिरामीको दिशाको नमूना परीक्षणको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको थियो । प्रादेशिक अस्पतालमा आरडीटी प्रविधिबाट सेम्पल परिक्षण गर्दा ६ जनाको सेम्पल पोजेटिभ अर्थात् हैजाको किटाणु फेला परेको स्वास्थ्य संयोजक आलमले बताएका छन् ।
२२ जना बिरामीमध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका ७ र एक जना पुरुष गरी अहिले १८ जना भर्ना गरेर उपचार भइरहेको राजपुरका आलमले बताएका छन् ।
४ जना उपचारपछि घर फर्किसकेका उनले जानकारी दिएका छन् । उक्त टेष्ट शतप्रतिशत भरपर्दो नहुँदा नमूनाको कल्चर गराउनका जनकपुरधाम पठाइएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले बताएका छन् ।