arrow

श्रीलंकामा राष्ट्रपतिको निर्वाचन, पहिलो चरणमा कसैको पुगेन बहुमत 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
srilanka-election--presiden.jpg

काठमाडौँ । श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसक्ने देखिएको छ ।

अहिलेसम्म प्राप्त नजिता अनुसार वामपन्थी नेता अनुरा कुमारा दिसानायकले ३०.६ प्रतिशत मत प्राप्त गर्दै अग्रता हासिल गरेका छन् । त्यस्तै समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसाले २६.६ प्रतिशत मत प्राप्त गरेका छन् भने वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेले १३.५ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । 

पहिलो प्राथमिकताको मत गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि अब दोस्रो प्रथामिकताको मत गणना हुने भएको छ ।

डेली मिररका अनुसार श्रीलंकाको निर्वाचन आयोगले दोस्रो प्रथामिकताको मत गणना गर्न निर्देशन दिएको उल्लेख गरेको छ ।

पहिलो चरणमै निर्वाचित हुन कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । श्रीलंकामा मतदान गर्दा मतदाताले उम्मेदवारलाई पहिलो दोस्रो र तेस्रो प्राथमिकतामा चयन गर्नुपर्ने हुन्छ । 

शुरुमा पहिलो प्राथमिकताको उम्मेदवारको मत गणना हुन्छ । सो गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेमा पहिलो प्राथमिकतामा बढी मत ल्याउने दुई उम्मेदवारको मात्र दोस्रो प्राथमिकताको मत गणना गरिन्छ । 

तर पहिलो चरणमा बाहिरिएका उम्मेदवारले दोस्रो चरणको मत गणनामा कुनै शीर्ष दुई उम्मेदवार मध्ये एकलाई समर्थन गर्न चाहेमा उनले दोस्रो प्राथमिकतामा पाएको मत समर्थन प्राप्त उम्मेदवारको पक्षमा गणना हुने व्यवस्था रहेको छ ।

सन् २०२२ मा भएको आन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेपछि श्रीलंकामा शनिबार पहिलो पटक राष्ट्रपति निर्वाचन भएको हो । 

त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको अन्तरिम राष्ट्रपति बनेका थिए । शनिबार देशभरका १३ हजार १३४ मतदान केन्द्रमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । 

श्रीलंकामा राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने र बढीमा दुई कार्यकाल राष्ट्रपति बन्न सकिने व्यवस्था रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ