arrow

४५ दिनका लागि अल जजिरा बन्द गर्न आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । वैश्विक समाचार च्यानल अल जजिराले आइतबार कब्जा गरिएको वेस्ट बैंकको रामल्लाहमा रहेको आफ्नो कार्यालयमा सशस्त्र र मास्क लगाएको इजरेली सेनाले छापा मारेको र ४५ दिनका लागि बन्द गर्ने आदेश जारी गरेको बताएको छ ।

अरब प्रसारक अल जजिरा र इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारबीच लामो समयदेखि चलिरहेको झगडाको यो पछिल्लो घटना हो । गाजामा भइरहेको युद्धको समयमा यो अझ बिग्रिएको छ ।

अक्टोबर ७ मा हमास लडाकूहरूले इजरेलमाथि आक्रमण गरेपछि युद्ध सुरु भएयता अल जजिराले इजरेलको अभियानको प्रभावबारे निरन्तर प्रत्यक्ष रिपोर्टिङ गरिरहेको छ ।

इजरेली सेनाले बारम्बार कतारस्थित नेटवर्कका पत्रकारहरूलाई हमास वा यसको सहयोगी इस्लामिक जिहादसँग सम्बन्ध भएको आरोप लगाउँदै आएको छ ।

अल जजिराले इजरेलका आरोपहरूलाई जोडदार रूपमा अस्वीकार गरेको छ । साथै इजरेलले गाजा पट्टीमा आफ्ना कर्मचारीहरूलाई व्यवस्थित रूपमा लक्षित गर्ने गरेको अल जजिराको भनाइ छ ।

गाजामा युद्ध सुरु भएयता अल जजिराका चार जना पत्रकार मारिएका छन् । गाजामा रहेको नेटवर्कको कार्यालयमा पनि बम हमला गरिएको थियो ।

इजरेली सेनाले बन्द गर्ने आदेशको कारण नबताएको जनाएको छ अल जजिराले बताएको छ ।

“अल जजिरालाई ४५ दिनका लागि बन्द गर्ने अदालतको फैसला छ”, एक इजरेली सैनिकले अल जजिराका वेस्ट बैंक ब्युरो प्रमुख वालिद अल–ओमारीलाई नेटवर्कमा प्रत्यक्ष प्रसारण गरिएको कुराकानीमा भने । फुटेजअनुसार ती सैनिकले भने, “म तपाईंलाई सबै क्यामेराहरू लिएर यही क्षण कार्यालय छोड्न अनुरोध गर्दछु ।”

अल जजिराका अनुसार ओमारीले आदेशमा नेटवर्कमाथि ‘आतङ्कवादलाई उक्साएको र समथर्न गरेको’ आरोप लगाइएको बताए । ओमारीले भने, “पत्रकारहरूलाई यस प्रकारले लक्षित गर्नुको उद्देश्य सधैँ सत्यलाई मेटाउनु र मानिसहरूलाई सत्य सुन्नबाट रोक्नु हो ।”

इजरेली सेनाले टिप्पणीको अनुरोधमा तत्काल जवाफ दिएको छैन । 

रामल्लाहस्थित प्यालेस्टिनी विदेश मन्त्रालयले आइतबारको कारबाहीलाई प्रेस स्वतन्त्रताको ‘घोर उल्लङ्घन’ भनेर निन्दा गरेको छ । “अल जजिरा कार्यालय बन्द गर्नुले प्यालेस्टिनी जनताविरुद्ध (इजरेली) कब्जाका उल्लङ्घनहरू बताउने मिडियाको कामलाई अवरोध गर्ने कब्जाको प्रयासलाई पुष्टि गर्दछ”, वेस्ट बैंकमा आंशिक प्रशासनिक नियन्त्रण रहेको प्यालेस्टिनी प्राधिकरणको सरकारी मिडिया कार्यालयका निर्देशक मोहम्मद अबु अल–रुबले भने ।

अप्रिलमा, इजरेली संसद्ले राज्यको सुरक्षाका लागि हानिकारक मानिने विदेशी मिडिया प्रसारणमाथि प्रतिबन्ध लगाउने अनुमति दिने कानून पारित गरेको थियो ।

उक्त कानूनको आधारमा इजरेल सरकारले मे ५ मा अल जजिरालाई इजरेलबाट प्रसारण गर्न प्रतिबन्ध लगाउने र यसका कार्यालयहरू प्रारम्भिक ४५ दिनका लागि बन्द गर्ने निर्णय अनुमोदन गर्यो र यसलाई गत साता तेल अभिव अदालतले चौथो पटक थप गर्यो ।

अल जजिराले अदालतको उक्त निर्णयलाई ‘आपराधिक’ भनी निन्दा गर्दै यसले सूचना पाउने मानव अधिकारको उल्लङ्न गर्ने बतायो ।

इजरेल सरकारले गत हप्ता देशमा रहेका अल जजिराका पत्रकारहरूको प्रेस प्रमाणपत्र खारेज गर्ने घोषणा गर्यो । 

यो बन्दले अल जजिराले अझै पनि इजरेलको प्यालेस्टिनी लडाकूहरूसँगको युद्धको कभरेज गरिरहेको वेस्ट बैंक वा गाजा पट्टीबाट हुने प्रसारणलाई प्रभावित गरेको थिएन ।

अल जजिराकी संवाददाता निदा इब्राहिमले नेटवर्कको वेस्ट बैंक कार्यालय बन्द गर्ने कार्य इजरेल भित्रबाट रिपोर्टिङमा लगाइएको पहिलेको प्रतिबन्धपछि ‘आश्चर्यजनक’ नभएको बताए । “हामीले इजरेली अधिकारीहरूले ब्युरो बन्द गर्ने धम्की दिएको सुनेका थियौँ”, उनले भने ।  

गाजामा हमास–शासित सरकारको मिडिया कार्यालयले आइतबारको छापालाई निन्दा गर्दै वक्तव्यमा भनेको छ,  “एक गम्भीर अपमान र प्रेस स्वतन्त्रताको स्पष्ट उल्लङ्घन हो ।”

अल जजिरालाई आंशिक रूपमा वित्त पोषण गर्ने कतार हमासका राजनीतिक नेता इस्माइल हनियाको आधार पनि थियो । हानियाको जुलाईमा तेहरानमा भएको आक्रमणमा मृत्यु भएको थियो । इरान र हमासले हानियाको हत्यामा इजरेलको हात रहेको आरोप लगाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ