arrow

‘मुलुकको विकास गर्ने महत्वपूर्ण जिम्मेवारी उद्योगी व्यवसायीको काँधमा’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
pcci-samman.jpg

पोखरा । नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश र जिल्ला कमिटीले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीसहित पदाधिकारी तथा सदस्यलाई पूर्व वन तथा वातावरणमन्त्री एवं नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले सम्मान गरेका हुन् ।

कार्यक्रममा गुरुङले औद्यागिक वस्तु उत्पादनमा जोड दिनुुपर्ने बताउँदै एक पालिका एक औद्योगिक ग्रामको अभियानलाई अघि बढाउनुुपर्ने बताए ।

कोभिडका कारण प्रभावित अर्थतन्त्रमा पछिल्लो समयमा सकारात्मक सूचक देखिएको बताउँदै उनले अर्थतन्त्र केही चलायमान भएको बताए । मुलुकको विकास गर्ने महत्वपूर्ण जिम्मेवारी उद्योगी व्यवसायीको काँधमा रहेको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जिबबहादुर कोइरालाले तत्कालीन पञ्चायती व्यवस्थाका समयमा पनि शासकले पोखरा उद्योग वाणिज्य संघले के भन्छ भनेर डराउने अवस्था रहेको बताउँदै त्यो गरिमालाई जोगाउनुु जरुरी रहेको बताए । व्यवसायिक हितका लागि संघ क्रियाशील बन्नुुपर्ने उनले बताए ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं वरिष्ठ पर्यटन व्यवसायी बोबरजंग गुरुङले उद्योग तथा व्यवसाय संकटमा परेको भन्दै समस्या समाधानका लागि साझा अवधारणाका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

कोरोना कहरपछि पर्यटन सहितका व्यवसाय संकटग्रस्त नै रहेको बताउँदै उनले धेरै व्यवसायी पलायन भएको बताए ।

सरकारको व्यवसायमैत्री नीति आवश्यक रहेको बताउँदै उनले व्यवसाय संकटमा नै रहेको विद्यमान अवस्थामा गण्डकी प्रदेश सरकारले यस अघि सञ्चालन गरेको व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिनु आवश्यक भएको बताए ।

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले व्यवसायका क्षेत्रमा देखिएका समस्यालाई सबैको सहकार्यमा समाधान गरेर बढ्ने कुरामा लाग्ने विश्वास व्यक्त गरे । सबै व्यवसायीलाई समेटेर अघि बढ्ने उनले बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य, नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय सदस्य उमराज बास्तोला, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, सदस्य ललितबहादुर कुँवर लगायतले बोलेका थिए ।

महासंघ जिल्ला कमिटी अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षता भएकाे कार्यक्रमकाे सञ्चालन सचिव धर्ममान सिंह भण्डारीले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ