arrow

महाभारतको एक महत्वपूर्ण नीति : कणिक नीति

logo
डा‍ प्रकाश ढकाल
प्रकाशित २०७३ पुष १ शुक्रबार
mahabharat.jpeg
महाभारतको एक प्रमुख नीतिकार मध्ये कणिक हुन् । कणिक भारद्वाज गोत्रीय विद्वान् हुन् । महाभारतको कथासँगै कणिकका प्रसङ्गहरू आएका छन् । महाभारतमा कणिक नीतिको विशिष्ट स्थान रहेको छ । कणिकले यस नीतिलाई आपत्कालीन नीति भनेका छन् । आधुनिक संसारको भौतिकवादी राजनीतिमा कणिकनीति व्यापक चर्चामा छ ।
 
आधुनिक राजनीतिमा कणिकनीतिलाई कुटनीति पनि भन्ने गरिएको छ । कणिकनीतिमा प्रायः मानवताभन्दा बाहिरका धेरै प्रसंगहरू बताइएको छ । जसले गर्दा मानवताको व्यापक हनन भएको महसुस हुन्छ । कणिक स्वयम्ले पनि यसलाई आपत्कालीन भनेपछि यसको अवलम्बन गरिनु खासै उपयुक्त छैन ।
 
आधुनिक विश्व राजनीतिमा कुटनीतिको छुट्टै मर्यादा रहेको छ । महाभारतकालीन कणिकनीतिबाट क्रमश सुधार हुँदै कुटनीतिको आधुनिक स्वरूप निर्माण भएको हो । कुटनीतिले वर्तमान समयमा दुवैपक्षले आन्तरिक रूपमा हुने छलफल सल्लाहलाई जनाउँछ । लिखित रूपमा नहुने छलफलले मात्र समस्या समाधान हुने प्रसंगहरू सबै कुटनीति अन्तर्गत  पर्दछन् । कुटनीति एउटा उच्चस्तरिय छलफल हो । जहाँकुनै समस्याको समाधान मौखिक प्रक्रियाबाट हुन्छ ।
 
महाभारतका कणिकको नीतिमा छलछाम,छलकपट,दाउ जस्ता कुराहरू  पर्दथे । जसले दीर्घकालीन भन्दा पनि शीघ्रकालीन समस्या समाधान गर्नको लागि प्रयोग गरिएको हुन्थ्यो । महाभारत शान्तिपर्वमा राजा युधिष्ठिरले शरशय्यामा रहेका भीष्मपितामहलाई आपत्कालीन नीतिका बारेमा सोध्दा भारद्वाज गोत्रीय विद्वान् कणिक र सौविर देशका राजा शत्रुञ्जयको बीचको सम्वादलाई सन्दर्भमा ल्याएर जनाएका थिए ।
 
भीष्मले मान्छे मार्नु,शत्रुदेशका पुल तोड्नु,रासन पानी आउने नाका बाटो घाटो बन्दगर्नु, हमलागर्नु जस्ता कृत्यहरू नराम्रा मानवता बिहिन, धर्मविरोधी भएतापनि शत्रुलाई दमन गर्नको लागि यस्तो गर्नैपर्छ । यो नै क्षत्रीयधर्म हो भनेर भनेका छन् ।
 
यसै प्रसङ्ग नै कणिक नीति भएको विश्वास छ । अझ आफ्ना छोराहरूभन्दा भाईका छोराहरू शस्त्र,शास्त्र विद्यामा एकदम निपुण भएपछि महाराज धृतराष्ट्र शोकमग्न बने । पाण्डवहरूलाई  शास्त्रीय एवं वैधानिक विधिबाट पराजितगर्ने कुरा सामथ्र्यमा नरहेपछि उनीहरू कुपथमा लागेर भएपनि पाण्डवविरुद्द जाईलागे ।
 
धृतराष्ट्रले पनि आफ्ना सन्तानको विजयको इच्छा चाहेर नै धेरै जनाको सल्लाह लिए । त्यस मध्येका एक सल्लाहकार कणिक पनि हुन् । कणिकको शिक्षा लिने विशेष छात्र शकुनि पनि हुन् । राजनीतिका सर्वस्वीकार्य चार उपायहरू साम,दाम,भेद र दण्डमध्ये सर्वाेत्तम दण्ड नै हो । शत्रुहरूको जरै निर्मूल पार्नुपर्छ ।
 
शत्रुहरूका हाँगाविगाहरू प्निकुनै न कुनै रूपमा फेरी जाग्छन् अनि शत्रुस्वरूप बन्दछन् तसर्थ शत्रुको बिऊ राख्नुहुँदैन भन्ने कुरा उल्लेख गरिएको छ । चाहे सानो निर्बल किन नहोस् तर शत्रुको बिउ राख्नु हुँदैन । राजाले बोलीचालीमा मात्र नम्रभाव देखाउनु पर्छ । भित्री मन भने छुराझै तिखो धारिलो बनाउनु पर्दछ । पहिलो भेटले अत्यन्त पुलकित पार्नुपर्दछ । आफ्नाे ऐश्वर्य,विजय एवं प्रगति चाहने राजा वा शासकले अवस्था अनुरूप शत्रुलाई पनि अभिवादन गर्नुपर्दछ । अझ आवश्यक परेको खण्डमा प्रतिज्ञा सहित वाचा समेत बाँध्नुपर्दछ ।
 
साथै उसलाई सामान्य विपत् पर्दा समेत धैर्यधारण गर्न उत्प्रेरित गर्दै शत्रुका आँखाको आँशु समेत पुछ्ने गर्नुपर्दछ । समयमा परिवर्तन आएर आफ्नो अनुकूल नभए सम्म शत्रुलाई काँधमा नै बोकिरहनु पर्दछ । जब आफ्नो अनुकूल समय हुन्छ तब शत्रुलाई काँधमा बोकेको माटाको घैँटोलाई माटाेमा छोडिदिएर शत्रुलाई छिन्न भिन्न पार्नुपर्दछ ।
 
राजा वा शासकले कोइली,बँदेल,सुमेरु पर्वत,शुन्य घर,नर्तक,अभिनेता र घनिष्ठ साथी यी छ जनाका उल्लेखनिय गुणहरू सिक्ने प्रयत्नगर्नुपर्दछ । स्वरमा मिठास हुनु कोईलीको गुण हो । रोक्नै नसक्ने गरेर भएको  कडा आक्रमणलाई पनि रोक्न सक्ने सामथ्र्य विशेषतःबँदेलमा हुन्छ ।
 
अत्यन्तअग्लो हुनु सुमेरु पर्वतको विशेषता हो । धेरै मानिसहरूलाई आश्रय वा एकान्तवास दिन सक्नु एकान्त घरको विशेषता हो । आफ्ना कला कौशलद्वारा अरुलाई प्रसन्न तुल्याउनु नर्तकी,कलाकर्मीको विशेषता हो । आपद् काल तथा रमाईलो क्षणमा सहयोग गर्ने र सबैको हित चाहने घनिष्ट मित्रको विशेषता हो ।कमजोर वा निर्धो राज्यले आफुकँहा शत्रु आउँदापनि उठेर स्वागत,सत्कार,उपहार आदिद्वारा सम्मान प्रकट गर्नुपर्दछ ।
 
आफ्नो स्वागत सम्मानमा ऊ लठ्ठिएपछि तिखो चुच्चो भएको पंक्षीले  पाकेको फल खानु पर्दछ । आफ्नाे सम्मानले सन्तुष्ट पारेर विश्वस्त तुल्याउँदै जानुपर्दछ । आफ्नो मोह जालमा फसाएपछि उसलाई तड्पाउँदै उसका लक्ष्य र साधनहरूमा पटक पटक धक्का दिएर शत्रुको सामथ्र्यलाई छिन्न भिन्न पार्नुपर्दछ । 
 
कुनै पनि राज्यका राजावाशासकहरूले अरुलाई मर्माघात नगरी ,क्रुरकर्म नगरी,धेरैको प्राणसंहार नगरी ठूलो ऐश्वर्य प्राप्तगर्न सक्दैनन् । माछा,बाघ लगायतका सम्पूर्ण हिंस्रक जीवजन्तुहरूले हिंसाको माध्यमबाट आफ्नाे जीवनयापन गर्दछन् । शासकहरूले पनिआपत्को घडिमा हिंस्रक बनेर आफ्नाे सामथ्र्य प्रयोग गर्दै शक्तिमान् बन्नुपर्दछ ।
 
शत्रु,आगो,ऋण यी तीनवटा कुराहरू कसैको पनि शेष राख्नु हुँदैन । उल्लेखित तीन कुराहरूलाई सानो भनेर हेप्नु महान् भूल हो । कमजोर  भएर बसेको  शत्रुले के नै पो बिगार्ला ?भनेर ढुक्क हुनुहुँदैन । यिनीहरू कहिल्यै साना हुँदैनन् । यस्ता शत्रुले रुखले जरा फैलाएझै आन्तरिक शक्ति सञ्चय गर्दै सबल बन्दछन् । सानो आगोको फिलिङ्गाले जसरी सारा वन सखाप पार्दछ । त्यसरी नै एक दिन शक्तिशाली बनेर विशाल श्रीसम्पत्तिलाई  एकै झिल्कोले स्वाहा पारिदिन्छ । नेपालको राणाकालीन इतिहासमा प्रधानमन्त्री बन्ने क्रमका जङ्गबहादुर राणाका छोरा जगतजङ्ग राणासहित उनका सम्पूर्ण छोराहरूलाई  मार्ने व्यापक षड्यन्त्र भयो ।
 
धेरै छोरासहित जगतजङ्ग मारिएका थिए । उनका केहि छोराहरूलाई छोरीको भेषमा लुकाएर बचाएको कुरा इतिहास प्रसिद्ध छ । बाँकी रहेको ऋण व्याजले, शत्रु ईखले, अग्नि सामथ्र्यले गर्दा बढ्दै जान्छन्् । सानो तथा कमजोर भएपनि शत्रुलाई उपेक्षा गर्नुहँुदैन ।
 
राजा वा शासकले आफुभन्दा बलियोसँग निहुरिएर,कमजोरलाई धम्काएर,लोभी व्यक्तिलाई धन सम्पत्तिको लोभ देखाएर आफ्नो वशमा राख्नुपर्दछ । समयानुसार नरम र कठोर बन्न जान्ने व्यक्तिहरूले आफ्ना कामहरू सफल पार्दछन् । यस्ता व्यक्तिहरूद्वारा शत्रुहरूमाथि समेत उनीहरूको नियन्त्रण रहन्छ । शत्रुता लिनु घातक हुन्छ । शत्रुलाई सकेसम्म आपूmभन्दा टाढा हुन दिनु हुँदैन । उसैसँग बेकारको शत्रुता लिनु भनेको निद्रा गुमाउनु मात्र हो । आफ्नो सामथ्र्यको पहिचान आफैले गर्नु अझ महान् कुरा हो । तर्ने नसकिने खोलालाई तर्दछु भन्ने साहस बुद्धिमान् राजाले गर्नुहुँदैन । जसलाई आपूmले जित्न सकिन्न भन्ने लाग्दछ त्यस्ता उपर पनि केही सम्पत्ति हडप्ने, निहुँ खोज्ने काम गर्नुहुँदैन । 
 
युद्धका पक्षमा वा अन्य राजकीय पक्षमा कसैलाई आँकलन गर्नुपूर्व नै आत्म आँकलन गर्नुपर्ने कुरा प्रष्ट छ । आफ्नो सामथ्र्य थाहा नपाइकन अरु उपर आक्रमणमा जानु अन्धकारमा तलाउमा फाल हाल्न बराबर हो । युद्ध वा अन्य कूटनीतिक सवालमा राजाले कहिल्यै घमण्ड गर्नु हुँदैन । शत्रुपक्षलाई विजय गर्नका निम्ति उनीहरूसँग सोझै प्रस्तुत हुनु पराजयको संकेत हो । विजय प्राप्त गर्नका निम्ति राजाले आफ्ना कुल, इष्ट देवताको स्मरणमा व्रत उपवासहरू गरेर राष्ट्रका प्रजा र अन्य देशका राजा प्रण्जाको ध्यान आकृष्ट गर्नुपर्दछ । जसरी रुखमा पाकेको फललाई टिप्न चाहनेले सर्वप्रथम रुखको हाँगो आफूतिर केहि नुहाएमा मात्र टिप्न सजिलो पर्दछ ।
 
विजयको अभिलाषा भएको राजाले त्यस देश वा पक्षका कसैलाई केही न केही रूपमा आकर्षण नगरिकन सोझै आक्रमणको निशाना बनाउनु अत्यन्त मुर्खता हो । महाभारतमा धृतराष्ट्र र कणिक भरद्वाजको वार्ता अत्यन्त प्रसिद्ध छ । धृतराष्ट्रले कूटनीतिको विशेष शिक्षा कणिकबाटै लिएका थिए । महाभारतका स्यालको कथा बताएर कणिकले आफ्नो नीतिज्ञको परिचय दिएका छन् ।
 
कणिकको अनुसार स्याल साम, दाम, दण्ड, भेद यी चारै प्रकारका उपायको सफल प्रयोग गर्ने तत्ववेत्ता प्राणी ओ स्याललाई मुख्यपात्र बनाएर बताइएको यो कथामा बाघ, मुसो, ब्वाँसो र न्याउरीमुसो पनि छन् । आफूभन्दा बलशालीहरूसँग नुहेर हात जोरेर भएपनि उनीहरूलार्य जित्नुपर्दछ भने कमजोरीहरूलाई डर धम्की देखाएर आफूले विजय हासिल गर्नुपर्दछ । यस्तो विधि अपनाउने राजा बल्ल सुखी हुन्छ ।
 
लोभी पापीलाई लोभ देखाएर कमजोरलाई धम्काएर बलशालीहरूसँग नुहेर विजय हासिल गर्नु नितान्त नीतिगत कुरा छन् । प्रतिज्ञा, वाचाबन्धन गरेर विष प्रयोग गरेर धोका दिएर भएपनि शत्रुलाई मार्नैपर्छ भन्ने कुरा व्यक्त छ । शासकले कहिल्यै पनि अरुका अवगुणहरूको चर्चा गर्नुहुँदैन । गोप्य विषयहरूमा गोप्यता राख्ने प्रयत्न गर्नुपर्दछ । शत्रुपक्ष कमजोर भएको स्पष्ट प्रमाण पाएको बेलामा मात्र शत्रु उपर प्रहार (आक्रमण) गर्नुपर्दछ । आफ्नो प्रतिपक्ष वा शत्रुपक्षको फौजमा महामारी आपत् परेको, अनिकाल परेको प्यासले तड्पेका लगायता समस्यामा जकडिएका बेलामा शत्रु उपर प्रहार गर्नुपर्दछ । शत्रु कमजोर भएको बेला आक्रमण गर्दा विजय पाउने प्रबल आशा रहेको हुन्छ ।
 
मानिसहरूलाई निरन्तर सम्पर्क सम्बन्धमा रहिरहने बनाउन अत्यन्त आवश्यक छ । धनवान् मानिसले कहिल्यै धनी मान्छेलाई भेट्न जाँदैन । जसका सम्पूर्ण कामहरू पुरा भैसकेपछि  उसले उसैसँग पनि मित्रता गाँस्न चाँहदैन तसर्थ आफूले पुरा गर्नुपर्ने अरुको काम अधुरो राख्नुपर्छ जसले गर्दा मानिस बराबर आफूकहाँ निरन्तर आइरहोस् । राजनीति गर्ने मानिस वा राजाले जहिल्यै पनि आफ्नो परिधिमा राख्ने हरसम्भव प्रयास गर्नुपर्छ ।
 
उसका कामहरू छिट्टै फत्ते नगरिकन विस्तारै गरिदिनुपर्छ जसले गर्दा ऊ निरन्तर आफ्नो सम्बन्ध तथा संगतमा रहिरहोस् । यसरी कणिकले राज्य सञ्चालन का लागि आवश्यक ठानिएको गोप्य नीतिको वारेमा प्रकाश पारेका छन् । विशेषतः कणिकनीति नै कुटनीति हो । अर्थात् गोप्यरूपमा कसैलाई नभनिकन  चाल नदिइकन शत्रु उपर विजयको अभिलाषा राख्ने नीति नै कुटनीति हो । समस्याका समाधानका लागि 
दुवै पक्षकाले निर्णय हुनुपूर्व गरेको छलफलका प्रकरण नै कुटनीतिक प्रकरण हुन् । 
 
मूलतः कणिक र राजनैतिक चारओटा उपायहरू मध्येका दण्डनीतिका प्रयोगवादी हुन् । उनका मतमा दण्डले नै सबैलाई शासन गर्न सकिन्छ । उनले दण्डको महत्तालाई विशेषरूपमा प्रष्ट्याएका छन् । राजा वा शासकले विजयको अभिलाषा लिँदा धर्मको अभिलाषा त्याग्नुपर्दछ । राजा वा शासकका निम्ति युद्ध जित्नु , राज्यको सीमा फैलाउनु ठूलो धर्म हो । शासन चलाउन वा सीमा फैलाउँदा हुने मानव हत्या हिंसालाई कणिकले सामान्य ठानेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ