arrow

करेन्ट लागेर पौडेलको मृत्यु, घटनाको जिम्मा सरकारले लिनुपर्ने परिवारको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
current-hanga.jpg
फाइल तस्बिर

पोखरा । पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड गौरीघाटका ६३ वर्षीय खेमबहादुर पौडेल (मंगल) रहेका छन् ।

यो घटना असोज १ गते दिउँसो करिब १ बजेको भए पनि ढिला गरी सार्वजनिक भएको छ । स्थानीयका अनुसार घरको आँगनमा लत्रिएको तार पन्छाउने क्रममा पौडेललाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर आँगनमै ढलेका पौडेललाई स्थानीयको सहयोगमा उद्धार गरी मणिपाल शिक्षण अस्पताल लगिएको थियो । 
पौडेलको घाँटी, पेट, खुट्टा, हातलगायतका भाग जलेका थिए । मणिपाल अस्पतालमा आईसीयूमा राखेर उपचार गर्दै गर्दा असोज ९ गते पौडेलको मृत्यु भएको हो । 

मणिपालमा उपचार गराउँदा सुधार नभएपछि उनलाई हेलिकप्टरमा राखेर काठमाडौँ लैजाने प्रयास पनि मौसमका कारण सफल हुन नसकेको बताइन्छ ।

पौडेललाई करेन्ट लागेको थाहा पाएपछि प्रहरी पुगेर घटनाको मुचुल्का गरेको थियो । प्रहरीले तारको नमुना संकलन गरेको छ ।

यसैबीच पौडेलका आफन्तजनले घटनाको जिम्मा सरकारले लिनुपर्ने माग गरेका छन् । पीडितको परिवारले इन्टरनेट सेवा प्रदायक कम्पनीको पहिचान गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरीसमेत दिएका छन् । 

इन्टरनेट प्रदायक कम्पनीले चुँडिएको तार लामो समयसम्म बेवारिस छोड्दा पौडेलले ज्यान गुमाउनुपरेको पीडित परिवारको गुनासो छ । 

पीडित परिवार र लेकसाइडका पर्यटनसँग सम्बन्धित, नागरिक समाज, आमा समूहलगायतका २२ संस्थाले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गर्न माग गरेका छन् । साथै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत माग गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ