arrow

कसै न कसैले जिम्मा लिनुपर्छ

सरकारको निर्देशन विपरीत रात्रि बस सञ्चालन भएकोप्रति छानबिन गर्न गगन थापाको माग [भिडियो]

तुरुन्तै छानबिन गर्ने र जो दोषी हो दोषीले भागिदार बन्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
gagan-thapa-06-15.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले रोक लगाउँदा लगाउँदै रात्रि बस सञ्चालन भएको भन्दै यसको छानबिन गर्न माग गरेका छन् । मङ्गलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले विपद्को पूर्व तयारी स्वरूप रात्रि बस सञ्चालन नगर्न निर्देशन गरेको भए पनि रात्रि बस सञ्चालन भएको भन्दै यस बारेमा छानबिन गर्नुपर्ने बताएका छन् । 

उनले सरकारको निर्णय विपरीत रात्रि बस सञ्चालन भएको विषयलाई कसै न कसैले जिम्मा लिनुपर्ने बताए । त्यसैगरी नख्खु बाढीमा फसेकाहरूको उद्धार गर्न नसकिएको विषयमा पनि छानबिन गर्नुपर्ने उनले माग गरे। नख्खु बाढीमा फसेकाहरूको समयमै उद्धार गर्न नसक्नुमा कसको दोष हो यस विषयमा छानबिन गरी दोषी उपर कारबाही गर्नुपर्ने उनको भनाई छ । 

उनले भने – ‘नेपाल सरकारको मुख्यसचिवदेखि प्राधिकरणको प्रमुखसम्म, प्रहरीको प्रमुखदेखि अरू जिम्मेवारीमा बसेका मानिसहरू अहिले जुन ठाउँमा बसेर आपतकालिन अवस्थामा जुन तरिकाले काम गरिरहेको देख्नुपर्ने हो त्यो नदेख्दा खेरी स्वाभाविक रूपमा प्रश्नहरू छन् । बैठकहरू धेरै भए । एकपछि अर्को डुप्लिकेशनहरु भएको छ । निर्णयको कार्यान्वयनहरू भएको छैनन् भन्ने गुनासोहरू छन् । गृहमन्त्रीलाई म ध्यानाकर्षण गराउन चाहन्छु, रात्रि बस सञ्चालन नगर्ने भनेर निर्णय भएको एकातिर देखिन्छ । अर्कोतिर रात्रि बस सञ्चालन भएको देखिन्छ । यसको कसै न कसैले जिम्मा लिनुपर्छ । छलफलको विषय मात्रै भएर हुँदैन । नख्खुकै सन्दर्भमा पनि त्यहाँ प्रहरी लगायतका अधिकारीहरू पुगेको भन्ने सन्दर्भ छ, गृह मन्त्रालयले यी दुवै विषयको सत्य तथ्य के हो भन्ने बारेमा छानबिन पनि गर्ने । राजनीतिक नेतृत्वको कमजोरी हो भने त्यो कमजोरीलाई स्वीकार गर्ने । राजनीतिक नेतृत्वले ठिक ढङ्गले गर्न खोजेको तल कसैले नगरेको हो भने पनि कसले नगरेको हो ? प्रमुख जिल्ला अधिकारीले नगरेको हो भने भन्नुपर्‍यो । प्रहरी प्रमुखले नगरेको भए प्रहरी प्रमुखले भन्नुपर्‍यो । कसै न कसैले जिम्मा लिनुपर्छ । कसैले पनि जिम्मा नलिने भयो भनेदेखि हामी यस्तै हो भन्नेतिर जान्छ । यसको बारेमा तुरुन्तै छानबिन गर्ने र जो दोषी हो दोषीले भागिदार बन्नुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ