arrow

गण्डकी सरकारले बाढीपहिरो प्रभावितका लागि ५० लाख सहयोग गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
gandaki-cabinet.jpg

पोखरा । गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

बैठकले बाढी पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, बेपत्ताको खोजी, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

‘विपद्का कारण देशभर ठूलो मानवीय र भौतिक क्षति भयो, यो विपत्तिको सामना हामी सबै मिलेर गर्नुपर्छ भन्ने धेयले प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो’, मुख्यमन्त्रीले भने ।

यसअघि जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितका लागि गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुननिर्माणलगायतका कार्यमा संघ सरकारसँग आवश्यक समन्वय निरन्तर गर्ने जनाएको छ ।

यसैबीच बैठकले गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाइँको संयोजकत्वमा उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकाल सदस्य रहने गरी समिति गठन गरिएको हो ।

समितिले प्रदेशभर विपद्ले पुर्याएको क्षतिको मूल्याङ्कन गरी काम सुरु गरेको १५ दिन भित्र सुझावसहितको प्रतिवेदन सरकार समक्ष पेश गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ