arrow

एकै दिन आठ पसलमा अनुगमन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
anugaman-pokhara.jpg

पोखरा । पोखरा महानगरपालिकाकी उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समिति संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार पोखरामा आठ पसलमा अनुगमन गरियो ।

पोखरा-२ स्थित भवानी पूजा सामग्री, महालक्ष्मी पूजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, पोखरा-३ स्थित साथी सपिङ सेन्टर र पोखरा-८ स्थित सहारा ट्रेडिङमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्री, सरकारले प्रतिबन्ध गरेको प्लाष्टिकको माला तथा फूलका गुच्छा जफत गरी नष्ट गरिएको छ ।

भवानी पूजा सामग्रीमा प्रतिबन्धित प्लाष्टिकका माला र फूलका गुच्छा नष्ट गरिएको छ । प्याकेजिङ अनुमतिपत्र नलिई प्याकेजिङ गरेर विक्री वितरण गरेको, व्यवसाय नविकरण नगरेको र थप कारबाहीका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

उक्त पसलमा मूल्यसूची नभएको व्यवसाय दर्ता, नापतौलको दर्ता नभएको, लेवल नभएका सामग्री विक्रीवितरण गरेको पाइएको छ ।

यस्तै एसएस स्टोर्समा अनुगमनका क्रममा म्याद गुज्रेको आइसक्रिम नष्ट गरिएको छ । प्याकेजिङ, ब्राण्डिङको इजाजत नलिएको, लेवल नखुलेको सामान विक्रीविरतण गरेको, ब्यवसाय दर्ता नभएको पाइएकाले महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।

साथी सपिङ सेन्टरमा म्याद गुज्रेका तेल, मकैको मिठो, दालचिनीको चुलो, मसलालगायतका सामग्री नष्ट गरिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।

यस्तै ओझा किराना पसलबाट बदाम, चोकोज, कुरकुरे जिरा, पानीपुरीलगायत सामग्री, गौचन स्टोर्सबाट म्याद गुज्रेको दही, सेलवेज क्यास एण्ड क्यारीमा म्याद गुज्रेको पनिर र फूलको खाने तेल नष्ट गरिएको बताइन्छ ।

अनुगमन गरिएका सबै पसलका सञ्चालकलाई असोज २१ महानगरमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

चाडपर्व धेरै सामग्रीको खपत हुने भएकाले मूल्यवृद्धि गर्ने र म्याद गुज्रेका सामग्रीसमेत बिक्री वितरण हुने भएकाले अनुगमन गरिएको संयोजक गुरुङले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ