arrow

शिक्षासम्बन्धी नयाँ कानून आउँदैछ, तात्नुपर्ने बेला आयो : प्रदेश प्रमुख भट्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
dilliraj-bhatta-anpabson.jpg

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सामुदायिक र निजी विद्यालयको अधिकार समान हुनुपर्नेमा जोड दिएका छन् ।

नेशनल प्याव्सन कास्कीको आइतबार भएकाे २६औँ साधारणसभा उद्घाटन गर्दै उनले समान अधिकारका लागि आवज उठाउन आग्रह गरे ।

उनले भने, ‘अब छिट्टै नै शिक्षासम्बन्धी नयाँ कानुन आउँदैछ, कानुन बन्ने बेलामा नै तपाइँहरु तात्नुपर्ने बेला आएको छ ।’

निजी विद्यालयकै अथक मेहनेतले शैक्षिक क्षेत्रको रिजल्ट राम्रो आएको उनको भनाइ थियो । ‘निजी विद्यालयमा नै अध्ययन गर्ने विद्यार्थीको रिजल्ट उत्कृष्ट देखिएको छ’, उनले भने, ‘तपाइँहरुले शिक्षा क्षेत्रमा पु¥याएको अथक मेहनत र योगदानको राज्यले महसुस गरेको छ ।’

सरकारी क्षेत्रको अनुभवसहितको दक्षता र निजी क्षेत्रको क्षमतायुक्त उर्जाले शिक्षामा गुणस्तरीयता अभिवृद्धि गर्ने सकिने उनको भनाइ थियो ।

प्राविधिक सिप बिनाको सैद्धान्तिक डिग्री प्रभावकारी नहुने भन्दै उनले विश्व प्रतिस्पर्धामा उत्रन प्राविधिक शिक्षा अपरिहार्य रहेको स्पष्ट पारे ।

विद्यार्थीको आचरण, अनुशासन र चरित्र निर्माणमा पनि विशेष ख्याल गर्नुपर्नेमा उनले जोड दिए ।

नेशनल प्यव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले लामो समयसम्म संघीय शिक्षा ऐन नआउँदा शैक्षिक क्षेत्रमा समस्या बल्झिएको बताए ।

एनप्याव्सन गण्डकीका अध्यक्ष रामबहादुर मोचीले परीक्षालाई लक्षित गरेर पढाई हुने गरेको बताउँदै अब कक्षा कोठाको सिकाइ लक्षित परीक्षाको व्यवस्था हुनुपर्ने बताए ।

संस्थाका सचिव प्रेमराज अधिकारी, कोषाध्यक्ष राजु केसी र लेखा संयोजक दीपु भारीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटा, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य, नेशनल प्याव्सनका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार ज्ञानेन्द्र मोहन भट्टराई, प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, नेल्टा कास्कीका अध्यक्ष अजय थापा, प्रज्ञा पब्लिकेशनका रमेशराज बराल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रशासन सचिव जीवन दाहाललगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ