arrow

‘दशैँमा यात्रुले टिकट नपाउने अवस्था छैन’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
Pokhara baglung buspark pokhara.jpg
फाइल तस्बिर

पोखरा । पोखरास्थित पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले दशैँमा यात्रुले टिकट नपाउने अवस्था नरहेको जनाएको छ । कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले प्रेस विज्ञप्ति जारी गरी प्रालिको सेवा सञ्चालन क्षेत्रमा कुनै पनि यात्रुले टिकट नपाएको वा घर जान नपाएको गुनासो नआएको जानकारी दिए ।

उनले गाडी नपाउने अवस्था आउन नदिने गरी कम्पनीले तयारी गरेको समेत स्पष्ट पारे । विज्ञप्तिमा भनिएको छ, ‘भत्किएका सडकको मर्मत सम्भार तथा झण्डै शतप्रतिशत निजी क्षेत्रको लगानी ओगटेको सार्वजनिक यातायात क्षेत्रको लगानी त्यसको प्रतिफल, बैंक एवं वित्तीय संस्थाको कर्जा लगानीको व्यवस्थापन र निजी क्षेत्रका व्यवसायीको लगानीतर्फ राज्यले प्रदान गर्नुपर्ने अभिभावकत्व शून्य छ ।’

विज्ञप्तिमा थप भनिएको छ, “राज्यले स्वदेशी उद्योगीका लगानीको संरक्षण र उचित व्यवस्थापन गरी प्रोत्साहन गर्नुको सट्टा तिनै व्यवसायीलाई हतोत्साही गर्ने र ठूला तथा विदेशी लगानीकर्ताको संरक्षण र पक्षपोषण गर्न सरकार लागि परेको महसूस गरेका हामी यातायात व्यवसायीले आफ्नो लगानी डुब्दै गरेको अवस्थामा हाम्रो व्यथालाई कुनै सुनुवाई नगर्ने हो भने आआफ्ना सवारीसाधन घर ग्यारेजमा खडा गरी सेवा बन्द गर्न बाध्य हुने व्यहोरा समेत अनुरोध गर्दछौँ ।”

अध्यक्ष केसीले प्राकृतिक प्रकोपमा परी जीवन गुमाएका यातायात उपभोक्ता, यात्रु, मजदुर तथा सर्वसाधारणप्रति दुःख व्यक्त गरे ।

साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना, बेपत्ताको खोजी, भत्किएका संरचना पुनःनिर्माण, नागरिकको भौतिक संरचना र सम्पत्तिको क्षतिपूर्ति र दैनिक गाँसवासको बन्दोवस्त तीव्र बनाउन उनले अपिल गरे ।

बिषम् परिस्थितिमा सरकारले देखाउनुपर्ने तदारुकता प्रभावकारी नभएको आम नागरिकले महसुस गरेका छन् ।

‘मौसममा केही सुधार आएपछि सडक मर्मतसम्भार गरी निम्न तथा मध्यम वर्गीय यात्रुलाई चाडपर्वको बेला घर जाने व्यवस्था गर्नुपर्नेमा स्वदेशी तथा विदेशी पुँजीपति वर्गको पक्षपोषण हुने गरी यात्रु चापको अवस्थामा मात्र मौकाको अनुचित फाइदा उठाउने गरी आन्तरिक उडान थप गर्ने र चर्को भाडा दरमा यात्रुलाई गन्तव्यतर्फ जान बाध्य बनाइएको र ग्रामीण दूरदराजमा जानुपर्ने यात्रु बसपार्कमा अलपत्र हुन बाध्य भएका छन्”, विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले पर्याप्त सवारी साधन नभएका ठाउँमा एक,दुई जना यात्रु मिलीजुली जानेगरी बस चढ्दा अनुगमनका नाममा दण्ड जरिवाना गरिएकामा समेत आपत्ति जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ