arrow

विजया दशमी

शनिबार टीकाको उत्तम साइत ११:३६ बजे, देवी विसर्जन ८:३३ बजे

राष्ट्रपतिले ९४ वर्षीय दाजुबाट टीका लगाउने, ३:३० देखि सर्वसाधारणलाई लगाइदिने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २५ शुक्रबार
jamara.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । 

उनले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ । 

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ देखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनेछन् । साथै सोही समयमा निजामती, जंगी, प्रहरीतर्फका  अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ । 

राष्ट्रपति पौडेलले दाइबाट विजया दशमीको टीका लाउने
बडा दशैँ २०८१ का अवसरमा विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउने छन् । राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दशैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्ने भएका हुन् । 

सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैंको टीका, जमरा र प्रसाद ग्रहण गर्नेछन् । 

राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दशैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गर्नेछन् । 
  
सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

टीको उत्तम साइत बिहान ११ः३६ बजे रहेको छ । यद्यपि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने देवीको प्रसाद ग्रहण गर्न कुनै साइत कुर्न नपर्ने भन्दै जुनसुकै बेला लगाउन सकिने उल्लेख गरेको छ ।

शनिबार बिहान ८ः३३ बजे विजया दशमीको देवी विसर्जनको समय रहेको छ । 

बडादशैँको मुख्य दिन सबैले टीका लगाउँछन् भने एकादशीदेखि पूर्णिमासम्म निश्चित भेगमा टीका लगाउने चलन रहेको छ । 

पछिल्लो समय भने यो क्रम धेरै स्थानमा बढेको छ ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ