बालुवाटारमा चीनियाँ कम्युनिष्ट नेता र प्रधानमन्त्रीको भलाकुसारी
‘चीनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर छौं’
प्रकाशित २०७३ पुष ४ सोमबार
932
Shares
काठमाडौं । चीनियाँ कम्युनिष्ट पार्टीका पोलिट्व्यूरो सदस्य तथा प्रकाशन विभाग प्रमुख लिउ छिपाओले प्रधानमन्त्री पुष्पकमल दाहालाई भेटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र छिपाओबीच नेपाल र चीनको सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्ध विस्तारबारे कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको राजनीतिक, आर्थिक, सामाजिक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए । दाहालले नेपाल चीनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको भन्दै त्यसको जानकारी राष्ट्रपति सीलाई गराउन छिपाओलाई अनुरोध गरे ।
चीनियाँ नेता छिपाओले नेपाल र चीनबीचको पुरानो सम्बन्धबारे चर्चा गर्दै नेपालले अख्तियार गर्दै आएको एक चीन नीतिका लागि चीनका तर्फबाट धन्यवाद दिए ।
छिपाओले नेपाल र चीन जोड्ने उत्तरी नाकाबारे चीन अत्यन्तै सकारात्मक रहेको भन्दै आपसी समझदारीमा काम अघि बढाउनुपर्ने धारणा राखे । सो अवसरमा प्रधानमन्त्री र छिपाओबीच चीनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्र बीच सम्बन्ध सुदृढ गर्नेबारे समेत कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्रीसँग चिनियाँ पक्षले ‘वान वेल्ट, वान रोड’ को विषय र नेपालको आर्थिक विकासका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा चासो दिएको थियो । यस विषयमा नेपालबाट कुनै प्रस्ताव आओस् भन्ने चिनियाँ पक्षको चासो रहेको छ ।
त्यस्तै, दुई देशबीचमा सडक एवं रेल सञ्जालका विषयमा पनि कुराकानी भएको थियो । चिनियाँ रेल नेपालसम्म ल्याउने र तातोपानी नाका खोल्ने विषयमा प्रधानमन्त्री प्रचण्डले चासो राखेका थिए । छिपाओ नेतृत्वको प्रतिनिधिमण्डल तीनदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आएको हो । नेपाल आएलगत्तै प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको थियो ।