arrow

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २ शुक्रबार
vitamin-a.jpg

पोखरा । पोखरा महानगरपालिका लगायत देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ ।

अभियानको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरे । अभियानको शुभारम्भ गर्दै नगर प्रमुख आचार्यले आफूहरू बालबालिकाको स्वास्थ्यप्रति सचेत रहेको बताए ।

बालबालिकालाई नियमित रूपमा दिइने यस प्रकारका कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र कुनै पनि बालबालिका यस सुविधाबाट वञ्चित हुन नपरोस् भन्नका लागि महानगरको स्वास्थ्यसम्बन्धी सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनले बताए ।

महानगरभित्र स्थायी तथा अस्थायीरूपमा रहेका ३२ हजार बढी बालबालिकालाई यस अभियानले पूर्णरूपमा समेट्ने गरी आवश्यक प्रबन्ध मिलाइएको उनले बताए ।

बालबालिकाको स्वास्थ्यमा आउन सक्ने जटिलतालाई मध्यनजर गरी महानगरपालिकाले सरकारका विभिन्न राष्ट्रिय अभियानमा सहकार्य गर्दै आइरहेको उल्लेख गर्दै उनले सुरक्षित र स्वस्थ भविष्य निर्माणका लागि आफूहरू प्रतिबद्ध रहेको बताए।

अभियानअन्तर्गत महानगरपालिकाका ६ देखि ५९ महिनासम्मका करिब २६ हजार ३ सय ५४ र अस्थायीरूपमा बसोबास गर्ने करिब ६ हजार बढी बालबालिका गरी ३२ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

यसका लागि महानगरपालिकाका स्वास्थ्यकर्मी, ६ सय ५६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको अभियानका फोकल पर्सन सत्यराज साँखीले जानकारी दिए ।

पोखरामा आज र भोलि महिला स्वास्थ्य स्वयंसेविकाका लागि निःशुल्क यातायात सेवाको व्यवस्थासमेत गरेको छ ।

पोखराका सबै अस्पताल, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउने व्यवस्था गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो ।

जसअनुसार यस पटक २१ लाख बालबालिकालाई भिटामिन ए र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ ।

यसका लागि ५२ हजार भन्दा बढी स्वास्थ्य स्वयंसेविका र १५ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ