arrow

दुर्गा तिवारी हत्याको छानविन गर्न गृहले गर्‍याे समिति गठन

हत्यारा चाँडै पत्ता लाग्छ : गृहमन्त्री निधि

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
durga-tiwarii-news.jpeg

काठमाडौं । सरकारले एमाले भ्रातृ संगठन युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याको अनुसन्धान गर्न छानविन चार सदस्यीय समिति गरेको छ । युवा संघले  मंगलबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई ज्ञापनपत्र बुझाउँदै छानविन समिति गठनको माग गरे लगत्तै समिति गठन भएको हो ।  

युवासँगको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री मन्त्री निधिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको र छिट्टै अपराधि पक्राउ पर्ने तथा कारबाही हुने बताए । नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्मा, राष्ट्रिय अनुसन्धानका यादव प्रसाद रेग्मी, प्रहरी एसएसपी मनोज न्यौपाने र गृहमन्त्रालयका उप–सचिव शिवराम जोशी सम्मिलित छानविन समिति बनेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

छानविन समितिले  घटनाको अनुसन्धान गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । अपराधिलाई पक्राउ गर्ने उद्देश्यले सबै सुरक्षा निकायहरुलाई विभिन्न नाका लगायत सीमावर्ती क्षेत्रमा परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । यस्तै, गृहमन्त्रालयले तिवारीप्रति श्रद्धाञ्जलि र परिवारमा समवेदना प्रकट गरेको छ ।

रुपन्देहीको देवदह खैरहनी आफ्नै घर नजिक मोटरसाइकलमा हिंडिरहेका बेला   तिवारीलाई नचिनेका दुई व्यक्तिले गोली हानेका थिए । मोटरसाइकलमा आएका दुई जनाले तिवारीलाई गोली हानि फरार भएका थिए, भने उनको देवदह मेडिकल कलेजमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो । इट्टा व्यवसायिसमेत रहेका तिवारीको यसअघि पनि हत्या प्रयास भएको बताइएको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले घटनालगत्तै छानविन प्रक्रिया अघि बढेको भन्दै छिट्टै हत्यारा पत्ता लाग्ने बताएका छन् । एमालेले भने प्रधानमन्त्री र गृहमन्त्रीको उक्साहटले घटना निम्तिएको आरोप लगाएको छ । एमाले महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रदेश विभाजनको आन्दोलनमा सक्रिय रुपमा लागेकाहरुविरुद्ध प्रधानमन्त्री र गृहमन्त्री स्वयंले उत्तेजनात्मक अभिव्यक्ति दिई उक्साएको आरोप लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ