इङ्गलिश प्रिमियर लिगमा लिभरपुल र म्यानसिटीको दबदबा, चेल्सीलाई झड्का
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
471
Shares
काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानका लिभरपुल र म्यानचेस्टर सिटीको दबदबा कायमै रहेको छ भने चेल्सीलाई झड्का लागेको छ । गएराति भएको खेलमा लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा मोहम्मद सलाह र कार्टिस जोन्सले एक–एक गोल गरेका थिए भने चेल्सीका लागि एक गोल निकोलस ज्याक्स्सनले गरेका थिए ।
त्यस्तै म्यानचेस्टर सिटीले वोल्भ्सलाई पराजित गरेको छ । म्यानसिटीले वोल्भ्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा खेलको ९५औँ मिनेटमा जोन स्टोन्सले निर्णायक गोल गरेका थिए । यसअघि १–० गोलले पछि परेको सिटीलाई ३३औं मिनेटमा जोसको ग्भार्डिओलले बराबरी गोल गरेका थिए । त्यस्तै वोल्भ्सका लागि जोर्गेन स्ट्रान्ड लार्सेनले एक गोल गरेका थिए ।
अंक तालिका
आठौँ चरणको खेलसम्म लिभरपुल २१ अंकसहित शीर्ष स्थानमा कायमै रहेको छ भने म्यानसिटी २० अंकसहित दोस्रो स्थानमा रहेको छ ।
आसैनल र एस्टन भिल्ला १७ अंकसहित तेस्रो र चौथो स्थानमा छन् । ब्राइटन १५ अंकसहित पाँचौँ स्थानमा रहँदा चेल्सी भने १४ अंकबाट छैटौँ स्थानमा झरेको छ ।
क्रिस्टल प्यालेस, साउथह्याम्पटन र वोल्भ्स रेलिगेशन क्षेत्रमा छन् ।