arrow

दशरथ रंगशालामा नेपालको कीर्तिमानी जित, माल्दिभ्सको पोष्टमा ११ गोल, रेखाको पाँच गोल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
rekha-poudel-5goals-saff-24.jpg

काठमाडौँ। सातौँ संस्करणको महिला साफ फुटबल च्याम्पियनशिपको दोस्रो खेलमा नेपालले कीर्तिमानी जित हासिल गरेको छ । घरेलु दशरथ रंगशालाको मैदानमा नेपालले अहिलेसम्मकै फराकिलो जित हासिल गर्ने क्रममा माल्दिभ्समाथि ११-० को जित हासिल गरेको हो । 

दशरथ रंगशालामा नेपाली चेलीहरुले यति ठूलो फराकिलो अन्तरको गोल यसअघि गरेका थिएनन् । नेपालका लागि रेखा पौडेल एक्लैले पाँच गोल गरिन् । त्यस्तै प्रिती राईले तीन गोल गरिनन् ।

सविता राना मगर, अमिषा कार्की र अनिता केसीले एक–एक गोल गरे । आधा दर्जन गोल गर्ने अवसर त नेपालले मध्यान्तरअघि नै खेर फालेको थियो ।

पहिलो खेलमा अहिलेसम्म जितमात्रै निकालेको भुटान सामु गोलरिहत बराबरी खेल्दै अंक बाँड्न परेपछि नेपाल दबाबमा रहेको थियो । तर नेपालले माल्दिभ्सलाई भने कुनै मौका नै दिएन । 

यसअघि नेपालले सन् २०१६ मा माल्दिभ्सलाई ९–० पराजित गरेको थियो। त्यो खेलमा सावित्रा भण्डारीले पाँच गोल गरेकी थिइन् ।

पाँच पटकको उपविजेता नेपाल उपाधिका लागि तिर्खाइरहेको छ । तर अहिलेसम्म त्यो अवसर आएको छैन । 

समूह बी को खेलमा नेपाल २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा पुगेको छ । भुटानले आजको खेलमा श्रीलंकालाई पराजित गरेसँगै सेमिफाइनल सम्भावना कायमै राखेको छ । 

 भुटान ४ अंकसहित दोस्रो स्थानमा छ । श्रीलंका ३ अंकसहित दोस्रो स्थानमा छ । नेपाल १ अंकसहित तेस्रो स्थानमा रहँदा अंकविहीन माल्दिभ्स पुछारमा छ । 

साफमा नेपाल र माल्दिभ्स चार पटक आमने सामने भएका छन् । नेपालले सबै खेल जितेको छ । 

यता नेपालमा फर्केकी साफ च्याम्पियनशिपमा १९ गोल गरिसकेकी सावित्रा भण्डारी ‘साम्बा’ लाई आज मैदानमा भने प्रशिक्षकले उतारेनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ