arrow

भारत र चीनबीच एलएसीबाट सैनिक पछाडि हटाउने र पेट्रोलिङलाई निरन्तता दिने नयाँ सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
modi-Xi.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा (एलएसी) मा आफ्ना सैनिक पछि हटाउने र फेरि पेट्रोलिङ शुरु गर्नका लागि नयाँ सहमति भएको छ । 

यो सम्झौता देपसङ र डेमचोक इलाकामा पेट्रोलिङसँग सम्बन्धित रहेको छ । अहिले त्यहाँ पेट्रोलिङ शुरु भइसकेको छ । अब छिट्टै दुई देशका सैनिकहरु पछि हट्ने क्रम शुरु हुनेछ । 

भारतीय विदेश मन्त्री एस जयशंकरले सोमबार भारत र चीनबीच सीमामा पेट्रोलिङ प्रणालीलाई लिएर सम्झौता भएको बताए । उनले यसले सन् २०२० को मे महिनामा रहेको स्थिति फर्किने दाबी गरे । 

एनडीटीभी वल्ड समिटमा बाेल्दै उनले याे एक सकारात्मक र राम्रो घटनाक्रम भएको बताए । यो निकै धैर्य र निकै दृढ कूटनीतिको नतिजा भएको पनि जयशंकरले बताए । उनले भने, 'हामीले सन् २०२० को सेप्टेम्बरदेखि वार्ता गर्दै आइरहेका थियौँ । त्यो बेला मास्कोमा चीनका विदेश मन्त्री वाङ यीसँग कुराकानी गर्दा मलाई लागेकाे थियो कि हामी २०२० भन्दा अगाडिको शान्तिपूर्ण वातावरणमा फर्कन सक्छौँ ।'

यसअघि विदेश सचिव विक्रम मिस्रीले पनि यस बारेमा जानकारी दिएका छन् । उनले दुवै देशबीच पेट्रोलिङको व्यवस्थालाई लिएर लद्दाखमा सन् २०२० मा उत्पन्न विवाद समाधानतर्फ उन्मुख भइरहेको बताए । 

यो महत्वपूर्ण घटनाक्रम मंगलबार र बुधबार हुने १६ औँ ब्रिक्स शिखर सम्मेलनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको रुस यात्राभन्दा ठीक अगाडि आएको हो । 

ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय वार्ताको सम्भावना रहेको विदेश सचिव मिस्रीले बताए । उनले पछिल्ला केही हप्तादेखि भारत र चीनबीच राजनैतिक तथा सैन्य वार्तासमेत भइरहेको बताए । 

सन् २०२० को जुन १५–१६ मा लद्दाखस्थित गलवानमा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए भने चीनतर्फ दोब्बर संख्यामा क्षति भएको बताइएको छ ।

यद्यपि चीनले आफूतर्फको क्षतिको आँकडा भने अहिलेसम्म दिएको छैन ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ