arrow

प्रचण्डजी पालेको खसी जस्तै बन्नुभा छः चन्द्र भण्डारी

सिक्किम विलय गराउने पनि चैनले बाँचेनन

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
chandra-bhandari-andolan-interview.jpeg
काठमाडौं। नेपाली काँग्रेस जनताको चाहना, जनप्रतिनिधिहरुको निचोड र राष्ट्रिय स्वार्थका आधारमा अहिलेसम्म नेतृत्व गर्दै आएको छ । यसका संस्थापक नेता विपी कोइरालाले नेपालीहरूलाई भन्नुभएको थियो ‘तिमीहरूलाई राष्ट्रमाथि अफ्ठ्यारो पर्दा अन्योलमा पर्‍यौ भने एक मुठी माटो समाएर जे आत्माले भन्छ त्यही गर्नु।’ वीपीको सोहि भनाइलाई पछ्याउँदै जवर्जस्ती पहाड र तराईलाई मिल्न दिनुहुन्न भन्ने शक्तिलाई बढावा दिने र नागरिकताको नाममा १० वर्षमा नेपालीहरु नेपालमा नै अल्पमतमा पर्ने तरिकाले आएको यो संशोधन प्रस्ताव विरूद्ध चट्टान जस्तो भएर बसेको छु । अहिलेको कठिन परिस्थितीमा पनि नेपालको लागि नेपाली जनताको निम्ति बोल्न पाईयो, यसका निम्ति हिँड्न पाईयो र यसका निम्ति अर्थात् नेपाली जनताको निम्ति केहीगर्न पाईन्छ कि भनेर हिँडिरहेको छु ।
 
५ नं प्रदेशको विखण्डन शुरुवात मात्र 
मलाई अहिलेसम्म पार्टीका साथीहरुरूले केही भन्नु भएको त छैन । अहिले ५ नं प्रदेशको विखण्डन भनेको भोलि ५ नं प्रदेशको मात्र विखण्डन होइन एक नम्वरको पनि विखण्डन हो र यो भोलि नारायणघाटको पनि विखण्डन हो । यो अन्त्य होईन बरु सुरूवात मात्रै हो । यो कसैले व्यक्तिगत स्वार्थलाई माथि राखेर कुरा गरेका होलान् त्यो आफ्नो ठाउँमा छ । तर, यो भन्दा ठूलो मुलुकका लागि विडम्बना अरू के हुन सक्ला ? त्यसैले म सबै साथीहरूलाई बुझ्न र गहिरो रुपमा चिन्तन गर्न आग्रह गर्दछु । 
 
तराई मधेशका लागि पनि लड्छु
जहाँसम्म पुत्ला दहनको कुरा छ । मैले पनि विभिन्न आमसञ्चार माध्यमहरूबाट सुनेको छु । म मधेशका साथीहरूलाई भन्छु म आफैं पनि अहिले मधेशको लागि लडेको हुँ । म के भन्छु भने काठमाडौंमा भएको पिलरले तराईको डुवानलाई पुर्न सक्दैन । तराईका जनता मजबुत नभई राष्ट्र बलियो हुन सक्दैन । तराईका जनताको राजनीतिक, शैक्षिक र सामाजिक अधिकारका लागि हामी तराईका जनता भन्दा पनि बढी लडेका छौं । आज सुस्ताका २५ जना नेपालीलाई सीमा सुरक्षा गरेबापत भारतीय प्रहरीले ज्यान मुद्दा लगाईदिएको छ । तर, एक जना मधेशी मोर्चाका नेताहरु बोल्न सकेका छैनन् । हामी त तराईका जनताहरुको नेता हौं । जसले दाईजोको नाममा आफ्नै छोरी बुहारी जलाउँछ, जसले आफ्नै छोरी बुहारीलाई शारीरिक तथा मानसिक तनाव दिने गर्दछ त्यसताले विरोध गरेर के हुन्छ ? 
 
म सांसद् हुँ । मैले तराईका छोरी चेलीको पक्षमा संसद्मा बोलेका कुरा, उनीहरुको पक्षमा गरेका बहस र उनीहरुको अन्याय विरुद्धको काम गर्दै आएको छु। तराईका जनता हाम्रा सीमा रक्षकहरु हुन् । उनीहरुको कामलाई अभिनन्दन गर्नुपर्छ भन्ने पक्षको मानिस हौं हामी । 
 
सिक्किम विलय गराउने पनि चैनले बाँचेनन
नेपालका राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थ पूर्तिका निम्ति, आफ्नो घरबार चलाउनका निम्ति, आफ्ना बालबच्चा पढाउनका निम्ति के गर्दैछन् म यो सोध्न चाहन्न । तर त्यसले पछिसम्म पनि हामीलाई सन्तुष्टि भने दिँदैन । सिक्किम विलय गराउने शासक पनि पछिसम्म पश्चातापको आगोमा पिल्सिईरहनुपरेको यथार्थ हामीले पनि पढ्दै आएकै कुरा हो । 
 
मधेशका नेतासँग हैन दिल्लीसँग वार्ता
दोस्रो कुरा मणिशंकर ऐरले केहि समय अघी भारतीय संसदमा बोलेको कुरा स्मरण गराउँछु। जनताले नपत्याएका केही सीमित नेताहरुलाई काखी च्यापेर नेपाल जस्तो सार्वभौमसत्तासम्पन्न देशलाई भारत सरकारकै कारण किस्तिमा राखेर चीनलाई बुझाउँदै छ भनेर उनले संसद्मा नै बोलेको भाषण हामीले पनि आमसञ्चार माध्यमबाट सुनेकै हो ।  उनले भनेजस्तै, अहिलेको हामीहरुको समस्या मधेशका दुईचारजना मान्छेहरुसँगको समस्या होईन । यत्तिले यो समाधान हुँदैन । यो त यिनीहरु दुईचारजनासँग वार्ता गरेर समाधान हुने कुरा पनि होईन । आज एउटा भन्छ भोलि अर्को पर्सी अर्को कुरा विस्तारै थप मागहरु राख्दै जान्छन् । हामीले यसको समाधानको लागि दिल्लीसँग नै सिधै कुरा गर्नुपर्छ । त्यसको लागि हामीले काँग्रेस, एमाले र माओबादी एकै ठाउँमा उभिएर अघि बढ्नु जरुरी छ । यसको विकल्प छैन। 
 
भारतले बदला लिन खोजेको हो
संविधान बनाउँदा एकै ठाउँमा नउभिएको भए संविधान बन्न सक्ने नै थिएन । आफूले भनेको मानेन भनेर भारतले बदला लिन खोजीरहेको छ यो पार्लियामेन्टसँग र नेपाली राजनीतिक दलहरुसँग । उसले बदला लिन खोजिरहेको थियो सुशील कोइरालासँग, उनीहरुले बदला लिन खोजिरहेको छ प्रचण्ड र शेरबहादुरसँग । यो हामीले बुझिरहेका छैनौं । सुशील कोइराला जीवनभरी राष्ट्रवादी बनेर बाँच्नु भयो । उहाँको मृत्यु कस्तो भयो ? विपी कोइराला बाहेक महन्थ ठाकुर कस्तो लिडर हुनुहुन्थ्यो ? उहाँ पनि प्रयोग हुनु भयो । प्रचण्डजी प्रधानमन्त्री त हुनुभयो तर मीठो खसि जस्तै बन्नुभएको छ । मालिकले पाल्छ पाल्छ अनि मन लागेको दिन खसीको के हालत हुन्छ सबैलाई थाहा नै छ । उहाँ किन हरियो घाँसको प्रलोभनमा फस्नु भएको छ । त्यो बुझ्न सकिएको छैन । यस्ता पात्र अरुपनि हुनुहुन्छ । त्यसैले म आग्रह गर्न चाहन्छु आदरणीय शेरबहादुर देउवा, प्रचण्डजीलाई भन्छु कि धेरै नेताहरु उपयोग भएर सिध्यिएका छन् । किसुनजी जस्तो नेता एउटा कुटीमा गएर बस्नु भएको हो । उ(भारत) हाम्रो छिमेकी हो । उसँग हामीले आफ्नो अडान स्पष्टसँग राख्नुपर्छ । उसलाई सन्तुष्ट बनाउनको लागि भोलि देश नै कोल्याप्स हुने खालको काम भने गर्नु हुँदैन। 
 
काँग्रेसका अधिकांश र बहुसंख्यक नेताहरु राष्ट्रबादी 
मैले देशको बारेमा कुनै नराम्रो काम गरेको छैन । म अहिले सांसद् हुँ । मैले आफ्नो तलव समेत त आफू नराखेर बच्चाहरुलाई पढाईरहेको छु । प्रदेशको बारेमा मेरो पार्टीको संसदीय समितिले केही निर्णय गरेको छैन । म जनताको पक्षमा उभिएको छु । जनताको साथमा छु । तर म अभिएको कुरालाई कसैले प्रस्ताव ल्याएर कारबाही गरौं भन्छ भने म पनि हेर्छु । हेर्दै जा‌औं कसले कसलाई कारबाही गर्छ । कारबाही भनेको त जनताले गर्ने होला नी । देशलाई आघात पार्नेहरु कतिदिन टिक्न सक्छन पार्टी भित्र र पार्टी बाहिर हामी पनि हेर्दै जाउला नि । त्यसो त मलाई लाग्छ हाम्रो पार्टी भित्र राष्ट्रको पक्षमा काम गर्ने नेताहरुलाई कारबाही गर्ने व्यक्ति नै छैन । हाम्रो पार्टी भित्रका अधिकांश र बहुसंख्यक नेताहरु राष्ट्रबादी छन् । राष्ट्रको निम्ति, लोकतन्त्रको निम्ति ज्यान दिएकाहरु छन् । यसले पनि हाम्रो पार्टी भित्र त्यस्तो समस्या आउँदैन भनेर भन्न सकिने अवस्था रहेको छ ।
 
काँग्रेसले किस्तिमा हालेर एजेण्डा बुझाउँनु हुन्न
अहिले विश्व कन्जर्भेटिभ नेश्नालिजमतर्फ बढेको छ । भारतमा मोदीजीको चुनावको कुरा पनि त्यही हो र अमेरिकामा ट्रम्पको विजय पनि त्यही नै हो । बेलायतको क्यामरुनको रिजाईनेशन पनि त्यही हो । अब हामी जनताको कुरा नसुनेर किस्तिमा हालेर सबै कुरा बुझाईदिने ? के किस्तिमा हालेर सबै जनताहरु उतै जाउ भनेर बुझाईदिने ? या जनताको धारणा बुझेर अघि बढ्ने ? अबको १५/१६ महिनामा सबै तहको चुनाव हुन्छ। त्यसकारणले काँग्रेसले किस्तिमा हालेर सबै एजेण्डाहरु एमालेलाई बुझाउनु हुँदैन । यो कुरामा हामी सचेत हुनुपर्छ । 
 
अबको कार्यक्रम 
हामीले पुष १० गतेसम्मको कार्यक्रम दिएका छौं । मैले तपाईँलाई बुटवलमा हेर्न जान आग्रह गर्छु । हामी १० गते जनप्रदर्शन गर्दैछौं । सुनौलीदेखि बुटवलहुँदै पहाडका सबै जिल्ला हुँदै नेपालगञ्जसम्म जान्छौं । हामी १० लाख मान्छे उपस्थित गराउँदैछौं । १० लाख मान्छे भएनन् भने संशोधन प्रस्तावमा जे गरेपनि हुन्छ । अब कुरा आउँछ । जनताको चाहना बुझ्ने कि नबुझ्ने ? यतिका मानिस आएपछि डेमोक्र्याटहरुको लागि त्यो भन्दा ठूलो कुरा र त्यो भन्दा ठूलो नैतिक दबाब के हुन्छ ? जनताको चाहाना के छ ? सिंहदरबारमा बसेर अध्यारोमा षडयन्त्र गरेर मात्र त हुँदैननी। रातीराती प्रस्ताव दर्ता गर्ने हो संविधानको कुरा ? खुल्ला हृदयले बहस र छलफल गरेर दर्ता गराउन सक्नुपर्‍यो नि त्यस्तै हो भने त। बादेबादे जायते तत्वबोधः यो नै हाम्रो दर्शनले सिकाएको कुरा हो नि । यो नै हामीलाई काँग्रेसले सिकाएको कुरा हो ।
(काँग्रेस नेता चन्द्र भण्डारीसँगको वार्तामा आधारित)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ