arrow

डेंगीका कारण माग वृद्धि हुँदा पोखरामा रगतको हाहाकार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
blooddonor.jpg

पोखरा । चाडपर्वले रक्तदान र सङ्कलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दशैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको र डेँगीका कारण माग वृद्धि हुँदा रगत हाहाकारको अवस्था आएको जनाएको छ । केन्द्रले सवैलाई रक्तदान गर्न समेत आह्वान गरेको छ ।

रक्त सञ्चार केन्द्रमा रगत अभाव भएर अस्पतालमा उपचाररत बिरामी प्रभावित हुने अवस्था आएपछि सोमबार पोखराको महेन्द्रपुलमा बिहान ७ बजे साँझ ५ बजेसम्म आकस्मिक रक्तदान कार्यक्रम आयोजना समेत गरिएको थियो । कार्यक्रममा सर्वसाधारण र वटुवालाई रगत दिन आग्रह गरिएको हो ।

केन्द्रको आह्वानपछि लायन्स क्लब अफ आदर्श चौतारीको अग्रसरतामा भएको सो कार्यक्रममा एक सय ३१ युनिट रगत सङ्कलन भएको सञ्चार केन्द्र पोखरा प्रमुख अर्जुन ज्ञवालीले बताए ।

“दशैँका समयमा विभिन्न सङ्घ संस्थाले गर्ने रक्तदानका कार्यक्रम हुन सकेनन् । अहिले डेँगीको सङ्क्रमण समेत बढेकाले अस्पतालमा रगतको माग बढी छ । आपूर्ति कम र माग बढी हुँदा हाहाकारको अवस्था आएपछि सवैलाई आह्वान गरेका छौँ”, ज्ञवालीले भने ।

ज्ञवालीले आकस्मिक कार्यक्रमका लागि आह्वानपछि विभिन्न सङ्घ संस्थाले कार्यक्रम राखेको जानकारी दिए । “हामीले अभाव महसुुस गरेपछि आह्वान गछौँ र आपूर्तिको व्यवस्थापनका लागि पहल गर्दै आएको छौँ”, ज्ञवालीले भने ।

डेङ्गी सङ्क्रमण बढेकाले ‘प्लेटलेट रिच प्लाज्मा’को माग बढिरहेकाले ‘फ्रेस रगत’का लागि दैनिक रगत सङ्कलन गर्नुपर्ने अवस्था रहेको केन्द्रले जनाएको छ ।

लायन्स क्लब अफ आदर्श चौतारीका अध्यक्ष सूर्य पोखरेलले रक्तसञ्चारको आह्वानपछि रक्तदान कार्यक्रम गरिएको बताए ।

यता रगत अभावलाई मध्यनजर गर्दै पोखरास्थित एभरेष्ट मिडिया हाउसले पनि रक्तदान कार्यक्रम आयोजना गरेको छ । कात्तिक १० गते शनिबार कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की सभापति दण्डराज शर्मा, लायन्स क्लबका गर्भनर विनोद ढुंगानालगायतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।

पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ । प्रदेशका अन्य जिल्ला अस्पतालबाट समेत यहाँका अस्पतालमा बिरामी थप उपचारका लागि सिफारिस भएर आउने गरेकाले माग बढी हुने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ