arrow

उपभोक्तालाई उचित मूल्यमा औषधि दिन स्वास्थ्य मन्त्री पौडेलले बनाए सुझाव समिति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
pradip-poudel-81-7-6.jpg

काठमाडौँ । उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन् ।

मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद् डा पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेका हुन् ।

गठित समितिको सदस्यमा स्वास्थ्यविद डा अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद डा देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि छन् ।

यसैगरी औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल समितिको सदस्य सचिव छन् ।

समितिलाई औषधिको उपभोक्तालाई उचित मूल्यमा उपलब्ध हुने गरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव दिन कार्यादेश दिइएको छ ।

समितिलाई छिमेकी देशहरुले अपनाईएका औषधि मूल्य सम्बन्धी नीति, व्यवस्था र प्रक्रिया अध्ययन गरि उपयुक्त हुने स्वच्छ मुल्य निर्धारण सम्बन्धी आधारहरु पहिचान गरी गर्नुपर्ने नीतिगत सुधार सम्बन्धी सुझाव दिन पनि भनिएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार समितिले औषधिको मूल्य सम्बन्धित विषय वस्तुबारे अभ्यास पुनरावलोकनसमेत गरेर गुणस्तर पहिचानसमेत गरी सुझाव सिफारिस गर्नेछ ।

औषधिको मूल्यसँग सम्बन्धित नीति प्रणाली, बजार मूल्य, आयात–निर्यात अवस्था तथा सरकारी नीतिहरुबारे समेत समितिले मन्त्रालयलाई सुझाव दिनेछ ।

समितिको कार्यविधि समितिले, कार्य सम्पादन गर्नका लागि आवश्यक कार्यविधिहरू आफैँ तयार गर्नेछ र आवश्यकता अनुसार विषयगत उपसमिति गठन गर्न सक्नेछ समितिको लागि आवश्यक सुचना संकलन, बैठक संचालन तथा सरोकारवालाहरुसँगको छलफल समिति आफैँले निर्धारण गर्नेछ । समितिले नीतिगत एवं मूल्य निर्धारण बारेका सुझाव मन्त्रीसमक्ष प्रस्तुत गर्नेछ ।

समितिको सोही सुझावका आधारमा उपभोक्तालाई औषधिको गुणस्तर नियन्त्रण प्रभावकारी बनाउँदै उचित मूल्यमा उपलब्ध गराउने गरी मन्त्रालयले आवश्यक निर्णयसमेत लिने प्रवक्ता डा बुढाथोकीले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ