arrow

मानहुँकोट घुम्न गएका १३ जनाको समूहमाथि सांघातिक आक्रमण, पाँच गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
Manahunkot.jpg
फाइल तस्बिर

पोखरा । पोखराबाट तनहुँको मानहुँकोट घुम्न गएका १३ जनाको समूहमाथि सांघातिक आक्रमण भएको छ । यो घटना गत शुक्रबारको बिहानको हो ।

तनहुँको व्यास नगरपालिकास्थित बेलवासलगायतका युवाको समूहले पोखराको समूहमाथि सांघातिक आक्रमण गरेका हुन् । उनीहरुले खुकुरी, लाठी, हेलमेटले आक्रमण गरेको पाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घटनामा पाँच पोखरेली युवा गम्भीर तथा अन्य सामान्य घाइते भएका थिए । गम्भीर घाइतेलाई टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उनीहरुको तनहुँस्थित दमौली अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमणमा परी घाइते हुनेमा पोखरा-१५ नयाँगाउँका २७ वर्षीय बिपिन गुरुङ, पोखरा-१६ दीपका ३२ वर्षीय रामेश्वर धिताल, स्याङजा वालिङ-८ घर भई हाल पोखरा-११ रानीपौवा बस्ने २९ बर्षीय युवराज गुरुङ, रानीपौवाकै २७ बर्षीय बिष्णु गुरुङ र पोखरा-१८ साराङकोटका २९ बर्षीय सिद्धार्थ डङ्गोल छन् ।

आक्रमणकारी समूहले पोखरेली समूहको नगद, घडी, मोवाइल, बेरुवा औँठी, एटीएम कार्डलगायतका सामग्रीसमेत लुटपाट गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार आक्रमणकारी समूहका पाँच जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको छ ।

पीडित युवाले जिल्ला प्रहरी कार्यालय तनहुँमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दायर गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

स्रोतका अनुसार सात वटा मोटरसाइकलमा १३ जना पोखरेली युवा मानहुँकोट घुम्न गएका थिए । शुक्रबार बिहान मानहुँकोटमा रमाइलो गरिरहेका अवस्थामा ती युवामाथि एक्कासि आक्रमण भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ