arrow

बीपी राजमार्गको दुरावस्था : घण्टौँ जाम बसेरै यात्रा गर्न बाध्य [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
bp-highway-07-07.jpg

काठमाडौँ । अविरल वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले संघीय राजधानी काठमाडौँबाट पूर्वी क्षेत्र जोड्ने सडक सञ्जाल छिन्नभिन्न छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति गर्‍यो । पुल पुलेसा, सडक सञ्जाल र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । विपद्का कारण आवागमन रोकिएका सडक सञ्जालहरू अधिकांश पूर्ण रूपमा नै सञ्चालनमा आइसकेका छन् । तर बीपी राजमार्ग भने अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

 पूर्ववर्ती क्षेत्रबाट संघीय राजधानी आउने वैकल्पिक बाटो भनेको उदयपुर चितवनबाट काठमाडौं आउने हो । तर लामो पर्ने भएकाले पाँच घण्टा भन्दा बढी जाममा बसेर भए पनि बीपी राजमार्गबाटै काठमाडौं आउने गरेका छन् । बीपी राजमार्गको यात्राका क्रममा पर्यटकहरू पनि सास्ती व्यहोरिरहेका छन् । सुनकोसीले धेरै ठाउँमा सडक नै बगाएको छ । त्यसको विकल्प दिन सरकारलाई अझै धेरै समय लाग्ने निश्चित प्रायः छ । 

स्थलगत रिपोर्टिङका क्रममा बीपी राजमार्गमा भेटिएका एक जना सवारी चालकसँग कुरा गर्दा उनले ४-५ घण्टा कुरेर बस्नुपर्ने र अर्को बाटो जाँदा एक दिन पूरै समय जाने भएकाले जाममा बसेरै छोटो बाटो जाने गरेको बताए । तत्काल बाटो बन्छ जस्तो उनलाई लागेको छैन । चितवन हुँदै जाँदा बाटो घुमाउरो भएकाले बीपी राजमार्ग हुँदै नै जान छिटो हुने बताए । 

उनले भने, ‘४-५ घण्टा कुरेर बस्नुपर्छ । बाटो बन्ला जस्तो छैन, बाटो नै यस्तो छ । शुरुमै यस्तो जाम परिसक्यो, बीच बीचमा अझ कति बाँकी छ । उताबाट जाँदा घुमेर जानुपर्छ, टाढा छ ।’

सोही क्रममा भेटिएकी रुसकी पर्यटकले आफूसँग समय नरहेको तर अघि बढ्न समस्या भएको गुनासो गरिन् । उनले काठमाडौंका लागि आफू हिँडे पनि बाटोमा धेरै समयदेखि जाममा बस्नुपरेको बताइन् । उनले भनिन्, ‘यहाँ किन केही गरिएको छैन, थाहा छैन, मसँग समय छैन । म काठमाडौंका लागि हिँडेको हो । मेरो घर रसिया हो ।’

काभ्रेको भकुण्डेबेंसी क्षेत्रमा भेटिएका मोटरसाइकल चालकसँग कुरा गर्दा उनले आफू झापाबाट काठमाडौं हिँडेको दुई दिनमा भकुण्डेबेंसी आइपुगेको बताए । उनले बाटो चितवनतिर पनि बिग्रिएकाले छोटै बाटोबाट जाने निर्णय गरेर आएपछि सहज नरहेको प्रतिक्रिया दिए । उनले विगतमा बाटो राम्रो हुँदा एक दिनमा पुग्ने ठाउँ अहिले दुई दिनमा पनि पुग्न कठिन भइरहेको गुनासो गरे । नदीले अहिले आफ्नो क्षेत्र ओगटेकाले नदीले नभेट्ने क्षेत्रलाई मध्यनजर गरी सडक सञ्जाल बनाउन सरकारलाई सुझावसमेत दिए ।
 
उनले भने, ‘म झापाबाट हिँडेको । बाटो उता पनि धेरै नराम्रो छ । त्यसैले आउन नसकेर साथीको घरमा बास बसेर अहिले बिहान हिँडेको । विगतमा यो बाटो धेरै राम्रो थियो । अहिले दुई दिन लाग्छ । खोलाले आफ्नो क्षेत्र ओगटेको छ । उसलाई उसको क्षेत्र छोडेर बाँकी क्षेत्रमा मात्रै बाटो बनाउनु पर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ