arrow

साफ महिला फुटबल

भुटानको कीर्तिमानी गोलले नेपाल दबाबमा, श्रीलंकालाई कम्तीमा पाँच गोल अन्तरले हराउनु पर्ने

भुटानले माल्दिभ्समाथि गर्‍यो १३–०, नेपालले गरेको थियो ११-०

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
bhutan-saff-24.jpg

काठमाडौँ । काठमाडौँमा जारी सातौँ संस्करणको साफ महिला च्याम्पियनशिप फुटबलमा भुटानले कीर्तिमानी जित हासिल गरेको छ । समूह बीको खेलमा भुटानले माल्दिभ्सविरुद्ध १३–० को कीर्तिमानी जित हासिल गरेको हो । अहिलेसम्म भुटानले यति ठूलो अन्तरको जित हासिल गर्न सकेको थिएन । 

पहिलो हाफमा ६ गोल गरेको भुटानले दोस्रो हाफमा ७ गोल गरेको हो । प्लेयर अफ द म्याच डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् । २० वर्षीया डेकीले श्रीलंकाविरुद्ध २ गोल गरेकी थिइन् ।

पेमा छोदेन र डेकी याङदोनले २–२ तथा नाम्ग्याल डेमा, डेकी याङदोन, छिरिङ ल्हादेन र सोनाम छोदेनले १–१ गोल गरे ।

यो जितसँगै भुटान ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा पुगेको छ । भुटानको गोल अन्तर १६ भएको छ । समूह विजेता बन्न नेपालले आजको खेलमा श्रीलंकालाई कम्तीमा ५ गोलको अन्तरले हराउनु पर्ने हुन्छ । 

नेपालको २ खेलमा ४ अंक र श्रीलंकाको २ खेलमा ३ अंक छ । बराबरी गर्दा वा सामान्य जितले भने नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । 

नेपालले यसअघि माल्दिभ्सलाई ११–० ले हराएको थियो । नेपालले पहिलो पटक भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने भुटानले श्रीलंकालाई ४–१ ले हराएको थियो । 

समूह चरणको अन्तिम खेलमा साँझ साढे ५ बजे नेपालले श्रीलंकासँग खेल्दैछ । 

अर्को समूहबाट बंगलादेश समूह विजेता तथा भारत समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ