arrow

रवि, छवि र लिलाको तिहार प्रहरी हिरासतमै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
ravi-chabi-lila-sahakari.jpg

पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन र संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र लीला पछाईंको तिहार कास्की प्रहरी हिरासतमै बित्ने भएको छ ।

जिल्ला अदालत कास्कीले बिहीबार तीनै जनाको सात दिनको म्याद थपिदिएसँगै उनीहरुको तिहार कास्की प्रहरी हिरासतमै बित्ने भएको हो ।

लामिछाने कार्तिक २ गते शुक्रबार साँझ काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए । उनलाई ३ गते शनिबार बिहान कास्की ल्याइएको थियो भने ४ गते आइतबार अदालतमा उपस्थित गराइएको थियो । सो दिन उनलाई अदालतले छ दिन म्याद थप गरिदिएको थियो । उक्त छ दिन म्याद बिहीबार गुज्रिँदै थियो ।

थप भएको सात दिन म्याद कार्तिक १४ गते सकिनेछ । १५ गते तिहारको बिदा परेको छ । तिहार पर्वका कारण कार्तिक १४ गतेपछि अदालत बन्द हुनेछ । उनलाई कास्की प्रहरीले अदालत खुल्ने दिन २० गते मंगलबारबार मात्रै अदालतमा उपस्थित गराउने कास्की जिल्ला प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

लामिछानेलाई बयानका लागि मंगलबार र बुधबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो । सहकारी ठगीमा उनले इन्कारी बयान दिएका थिए । उनी आज अदालतमा पनि आक्रोशित ढंगले प्रस्तुत भएको बताइएको छ ।

लामिछानेलाई बुटवलको सुप्रिम, चितवनकाे सहारालगायतका सहकारीको रकम अपचलनमा बयानका लागि रुपन्देही र चितवन लगिने प्रहरीको तयारी छ । रुपन्देही जिल्ला अदालतलेसमेत उनलाई पक्राउ गर्न अनुमति दिइसकेको छ ।

रविसँगै पूर्वडीआईजी छविलाल जोशीको पनि तिहार हिरासतमै बित्ने भएको छ । उनको दशैँ पनि हिरासतमै बितेको थियो । उनी असोज ६ गते पक्राउ परेका थिए । उनलाई पनि बिहीबारै चौथोपटक सात दिनको म्याद थप भएको छ ।

तिहार बिदामा लामिछाने र जोशीका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट निवेदनसमेत दायर गर्न सकिन्छ । बन्दी प्रत्यक्षीकरणको रिट भने पर्व बिदामासमेत अदालतले हेर्ने छ । यसअघि दशैँ बिदामा जोशीको हकमा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गरिदिएको थियो ।

जाेशीलाई  कार्तिक ५ गते सोमबार बयानका लागि रुपन्देही लगिएको थियो । उनले मंगलबार बयान दिएपछि बुधबार कास्की नै फर्काइएको थियो । बुटवलस्थित सुप्रिम सहकारी ठगीमा पनि उनको नाम जोडिएको छ । त्यही सुप्रिममा जोडिएका रविलाई पक्राउ गर्न जिल्ला अदालत रुपन्देहीले अनुमति दिएको हो । 

यता पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमै रहेकी लीला पछाइलाई पनि अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बिहीबार जिल्ला अदालत कास्कीले पछाइलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

पछाई गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १५ खुमलटार बस्दै आएकी थिइन् नी असोज १४ गते पोखराबाटै पक्राउ परेकी थिइन् । उनीमाथि सूर्यदर्शन सहकारीका तत्कालिन अध्यक्ष गितेन्द्रबाबु राईसँग मिलेर तीन करोड रुपैयाँ अपचलन गरेको आरोप छ । उनले सो रकमबाट चल अचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गरेकी थिइन् ।

अब सहकारी ठगीमा जोडिएका तीनै जनाको समय सात दिन थपिएको भए पनि अब कम्तीमा १९ गतेसम्म हिरासतमै रहनु पर्नेछ । 

१५ गते अदालतमा म्याद थपका लागि जानुपर्ने भए पनि तिहारको बिदा १५ गतेदेखि नै शुरु हुने भएकाले उनीहरु तीनै जनाकाे तिहार यसपालि हिरासतमै हुने भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ