arrow

महिला साफ च्याम्पियनशिप

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंकामाथि ६–० को जित

नेपाल अहिलेसम्मका सबै संस्करणमा अन्तिम चारमा, सेमिफाइनलमा नेपालको भिडन्त भारतसँग, भुटानले बंगलादेशसँग खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
saff-nepal-srilanka-rekha-s.jpg

काठमाडौँ । नेपाल सातौँ संस्करणको महिला साफ च्याम्पियनशिपमा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । 

दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकामाथि ६–० को जित हासिल गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

नेपालका लागि रेखा पौडेलले २ तथा सविता रानामगर, सावित्रा भण्डारी साम्बा, अमिषा कार्की र रश्मि घिसिङले १–१ गोल गरे । सविता प्लेयर अफ द म्याच भएकी छिन् ।

यो खेलपछि नेपाल र भुटानको समान ७–७ अंक भए पनि गोल अन्तरमा नेपाल अगाडि भएसँगै नेपाल समूह विजेता तथा भुटान समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

नेपालको गोल अन्तर १७ रह्यो भने भुटानको १६ रह्यो । सेमिफाइनलमा नेपालको भिडन्त भारतसँग हुनेछ भने भुटानले बंगलादेशसँग खेल्नेछ । 

नेपालले यसअघि माल्दिभ्सलाई ११–० ले हराएको थियो भने भुटानसँग पहिलो पटक गोलरहित बराबरीमा रोकिएको थियो । 

नेपाल अहिलेसम्मका सबै संस्करणमा सेमिफाइनलमा पुगेको छ । नेपाल पाँच पटक फाइनलमा पुगेर उपविजेता भएको छ । 

सेमिफाइनल खेल आइतबार हुने भएका छन् । पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे दशरथ रंगशालामा हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ५ बजेदेखि हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ