arrow

रविमाथि थपियो सम्पत्ति शुद्धीकरणको मुद्धा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
ravi-lamichhene-07-03.jpg

पोखरा । सहकारी ठगी र संगठित अपराधको मुद्धा झेलिरहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्धा पनि थपिएको छ ।

उनलाई बिहीबार सात दिनको म्याद थप गर्दै गर्दा सम्पत्ति शद्धीकरणको मुद्धा पनि थपिएको अनुसन्धान अधिकृतको जिम्मेवारी पाएका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

यसअघि दुई मुद्धा (सहकारी ठगी र संगठित अपराध) मा अनुसन्धान भइरहेकामा आवश्यकता देखिएपछि सम्पत्ति शुद्धीकरणको मुद्धा पनि अघि सारिएको उनले बताए । यसको प्रतिवेदन तयार पार्ने काम भइरहेको उनले बताए ।

सहकारीबाट प्रत्यक्ष रुपमा गएको नदेखिए पनि अप्रत्यक्ष रुपमा रकम व्यक्तिले पनि आर्जन गरेको हुन सक्ने देखिएपछि सम्पत्ति शुद्धीकरणको मुद्धा अघि बढाइएको सरकारी वकिलको कार्यालयको दावी छ ।

स्रोतका अनुसार बिहीबार अदालत लैजाने बेलासम्ममा रविलाई आफूमाथि सम्पत्ति शद्धीरकणको मुद्धा अघि बढ्दैछ भन्ने सुइँकोसमेत थिएन । जब म्याद थपको कुरा आयो त्यसपछि सम्पत्ति शद्धीकरणको मुद्धा पनि थपिएपछि रविले ‘मलाई फसाउने प्रपञ्च नै रहेछ’ भन्दै आक्रोशित भएका थिए ।

रविलाई म्याद थप गर्नुअघि करिब चार घण्टा पक्ष र विक्षमा बहस भएका थिए । जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र विपिनराज तिवारी तथा कानून व्यवसायी युवराज पराजुली र बीबी विष्टले बहस गरेका थिए । उनीहरुले रविविरुद्धका विभिन्न दलिल प्रस्तुत गर्दै उनलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका थिए ।

स्रोतका अनुसार सरकारी वकिलका कुरा सुन्दै गर्दा रवि रातो पिरो भएका थिए । त्यसपछि उनी आफैले समय मागे र समय पाएपछि बोल्न सुरु गरे । उनी निकै आक्रोशित भावमा धारावाहिक बोल्न थाले ।

रविको आक्रोश रोकिने छाटकाँट नदेखिएपछि बीचैमा रोकेर न्यायाधीश चन्द्रकान्त पौडेल आँफैले सम्झाए । न्यायाधीश पौडेलले ‘आफ्नो कुरा राख्दा आक्रोशित हुँदै चर्को बोल्नु पर्दैन, यो अदालत हो’ भन्दै सम्झाएका थिए ।

त्यसपछि बल्ल रवि सम्हालिए र माफी पनि मागे । रविले आँफूलाई फसाउन थुप्रै तानावाना बुनिन थालेपछि आक्रोश पोखिएको स्वीकार गरे । न्यायपालिकाप्रति सधैँ विश्वास र सम्मान गर्ने उनले स्पष्ट पारे ।

लामिछानेका तर्फबाट रास्वपाकी सांसद सोविता गौतम, वरिष्ठ अधिवक्ता नारायण घिमिरे, हरिप्रसाद सुवेदी तथा अधिवक्ता नारायण कँडेल, पदमराज शर्मा र मधुकुमार चौलागाइँले बहस गरेका थिए ।

बिहीबार नै बुटबलको सुप्रिम सहकारीको ठगी र संगठित अपराधको मुद्धामा रविसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यस्तै सहारा सहकारीको पनि रकम हिनामिनामा रविको नाम जोडिएकोले चितवन जिल्लाबाट पनि पक्राउ अनुमति लिने तयारी भइरहेको बताइन्छ । रवि जोडिएका विभिन्न सहकारीको प्रकरणमा समेत उनलाई बयानका लागि लगिने सम्भावना छ ।

अदालतले सात दिन म्याद थपेसँगै रवि र छविलाल जोशी दुवै तिहार नसकिँदासम्म हिरासतमै रहने छन् । अदालतको अनुसन्धानका लागि दिएको म्याद सकिँदा पाँच दिन तिहारको सरकारी बिदा सुरु भइसक्ने भएकाले २० गतेसम्मै रवि र छवि हिरासतमा रहने पक्का छ ।

तिहार बिदामा लामिछाने र जोशीका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट निवेदनसमेत दायर गर्न सकिन्छ । बन्दी प्रत्यक्षीकरणको रिट भने पर्व बिदामा समेत अदालतले हेर्ने छ ।

यसअघि दशैँ बिदामा जोशीको हकमा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गरिदिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ