arrow

अन्नपूर्ण साउथ आरोहणका तस्बिर प्रदर्शनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
photo-exahibition-pokhara.jpg

पोखरा । पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिर पोखरामा प्रदर्शनीमा राखिएको छ ।

जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आरोहण अभियानका २५ फोटा प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनी अबको एक हप्ता अर्थात आगामी मंगलबारसम्म चल्नेछ । अन्नपूर्ण साउन एक्सपेडिसन १९७९ का दुई सदस्यसमेत प्रदर्शनीमा सहभागी थिए ।

जेल्ज ट्रकबाट हिमालयको फेदीसम्म पुग्ने लक्ष्य लिएर आएको पोलिस टोली १० हजार छ सय किमी यात्रा गरी पोखरा आइपुगेको हो ।

संसारलाई अन्नपूर्ण साउथ आरोहणको उपलब्धि पुनस्र्मरण गराउने लक्ष्यसहित १० देश पार गर्दै ६ सदस्यीय टोली पोखरा आएको हो ।

उनीहरु १९७९ मा पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, सोमानिया, बुल्डेरिया, टर्की, इरान, पाकिस्थान, भारत हुँदै नेपाल आएका थिए ।

अहिले पनि त्यो बेलाकै ट्रक र बाटो प्रयोग गरी टोली नेपाल आएको हो । टोलीका सदस्य मासिज पेट्रोविसले यसपालि टोलीले अन्नपूर्ण आधार शिविर पुगी आरोहणका क्रममा ज्यान गुमाएका दुई सदस्यको स्मरणसमेत गरेको जनाए ।

सन् १९७० र ८० को दशकमा जेल्स ट्रकको माध्यमबाट धेरै पोलिस आरोहीले संसारका विभिन्न देश पुगी हिमाल आरोहण गरेका थिए ।

१९७९ का अन्नपूर्ण साउथ आरोही राइसाल्ड विलोजोस्कीले झ्यालैबाट हिमाल देखिने संग्रहालय नै यी तस्बिरहरुको सबैभन्दा उपयुक्त स्थान भएको बताए ।
पहिले हिउँ अलि धेरै देखिने गरेको सम्झिँदै उनले हिउँ कम भएको र समय व्यतीत भएकोबाहेक हिमाल उस्तै रहेको सुनाए ।

पोलिस संस्कृति प्रवर्द्धन गर्न टोलीले पोखरामा फोटो प्रदर्शनी गरेको हो । अहिले ल्याइएको जेल्स ट्रक डिसेम्बरसम्म पोखरै रहनेछ ।
आगामी डिसेम्बरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा हुने पर्वतीय महोत्सवका आकर्षका रुपमा यी तस्बिर र ट्रकसमेत रहने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताइन् ।

पर्वतीय संस्कृति र हिमालबारे बुझाउने स्थल र अनुसन्धान केन्द्र बनेको संग्रहालय गएको वर्ष एक सय पाँच देशका करिब दुई लाखले अवलोकन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ