'माओवादी पार्टी मात्र होइन, आन्दोलन पनि हो’ : प्रचण्ड
दलीय सहमति भन्दा नेता कार्यकर्ता भेटघाटकै मोह
प्रकाशित २०७३ पुष ६ बुधबार
1.3k
Shares
धनगढी । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी मात्र नभएर आन्दोलन पनि भएको बताएका छन् । माओवादी केन्द्रले आयोजना गरेको सात नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै दाहालले यसो भनेका हुन् ।
सात नम्बर प्रदेशका नेता, कार्यकर्तालाई प्रशिक्षण दिँदै दाहालले भने, ‘माओवादी कुनै पार्टी मात्र होइन, यो एउटा युगान्तकारी आन्दोलन हो । कसैले चाहेर पार्टी त सानो ठूलो हुन सक्ला । तर, युगान्तकारी परिवर्तनका मुद्धा कायम रहेसम्म माओवादी आन्दोलन कायमै रहन्छ । हामी नरहुँला । तर, माओवादी अझै शक्तिशाली भएर रहन्छ । यो कुनै पार्टी मात्रै होइन, नेपालमा उथलपुथलकारी परिवर्तन ल्याउने आन्दोलन पनि हो ।’
माओवादी एकतामा जोड दिँदै दाहालले भने, ‘माओवादी एकता आजको आवश्यकता हो । आजको आवश्यकता माओवादी धाराको एकता नै हो । क्रान्ति र देशको हितका लागि माओवादी एक हुनुपर्छ । मैले सबै माओवादी धाराका नेताहरुसँग कुरा गरिरहेको छु । माओवादीलाई केन्द्रित गर्ने अभियानमा म लागेको छु । माओवादीको एकताबिना राष्ट्रिय एकता र परिवर्तनका एजेण्डा संस्थागत गर्न सकिँँदैन । परिवर्तनका एजेण्डा कमजोर भए स्वाधिनता खतरामा पर्ने र आन्तरिक एकतामाथि नै चुनौती आउन सक्छ ।’
राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै दाहालले भने, ‘सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध छ । हिमाल, पहाड र तराईलाई एकअर्कामा लडाएर होइन, एकतावद्ध गरेर मात्र राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । सरकार राष्ट्रिय एकता हासिल गरेर निर्वाचनमा जाने तयारीमा छ । संविधान संशोधन प्रस्ताव संविधान कार्यान्वयनका लागि जरुरी थियो । निर्वाचनको वातावरण नबनाई संविधानको कुरा गर्नु आदर्श त हुन सक्ला । तर, वास्तविक समाधान हुन सक्दैन ।’
नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले संगठनलाई व्यवस्थित बनाएर स्थानीय निर्वाचनको तयारी गर्न कार्यकर्तालाई आग्रह गरे । प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका नेता लेखराज भट्ट, कृषिमन्त्री गौरीशंकर चौधरी, नेताहरु खगराज भट्ट, जोखबहादुर महरा, लक्ष्मणदत्त जोशी लगायत नेताहरु थिए । प्रधानमन्त्री दाहाल अवरुद्ध संसद खुलाउने पहल गर्नुको साटो चुनाव लक्षित अभियान र कार्यकर्ता भेटघाटमा व्यस्त भएका छन् ।