arrow

बेलबारी गोल्डकपको उपाधि झापालाई 

logo
विवेक मिश्र, 
प्रकाशित २०८१ कार्तिक १० शनिबार
belbari-goldcup-2081-jhapa.jpg


मोरङ । मोरङको बेलबारीमा सम्पन्न सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ । 

शनिबार बेलारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५–३ गोल अन्तरले हराउँदै झापाले उपाधि जितेको हो । 

झापा ११ को लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले एक एक गोल गरे । सलहेशका राम थापा ,आदित्य शाक्य र विप्लव गुरुङले मात्र गोल गरे । 

सलहेशका समीर तामाङको प्रहार झापाका गोल रक्षक सन्दिप लिम्बूले बचाएपछि सलहेश उपविजेता बनेको हो । 

फाइनल खेलमा मध्यान्तर अघिको ४५ मिनेट गोलरहित बराबरीमा सकिएको थियो । ५० औँ मिनेटमा सलहेश फुटबल क्लब सिराहाका अजयी मार्टिनले हेडिङ मार्फत गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । 

७१ औँ मिनेटमा झापाका प्रदीप बुढाथोकीले जवाफी गोल गर्दै खेल बराबरीमा पुर्याए । १–१ गोलको बराबरी पछि प्रतिस्पर्धा निर्धारित ९० मिनेटमा थप कुनै गोल नभइ टुङ्गियो । 

त्यसपछि खेलको अन्तिम निर्णय सिधै टाइब्रेकरबाट गरिएको हो । उपाधिसँगै झापा ११ ले ८ लाख नगदसहित अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफी जितेको छ । 

यस्तै उपविजेता सलहेस फुटबल क्लब सिराहाले चार लाख नगदसहित ट्रफी प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच  अभिषेक गुरुङ घोषित भए ।  उनले नगद ५ हजार सहित ट्रफि प्राप्त गरे  । 

यस्तै झापाका सन्दीप लिम्बू उत्कृष्ठ गोल रक्षक, उत्सव राई उत्कृष्ठ मिड फिल्डर, सन्तोष गुरुङ उत्कृष्ठ कोच र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी  घोषित भए । तामाङले १० हजार नगदसहित ट्रफी र अरु खेलाडीले जनही ७ हजार नगद र ट्रफी प्राप्त गरेका छन् । 

यस्तै सलहेश फुटबल क्लबका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । उनले खेल अवधिमा पाँच गोल गरेका थिए । 

सलहेशका समीर तामाङले उत्कृष्ठ फरर्वाडको उपाधिसँगै ७ हजार नगद र ट्रफी प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ