arrow

साफ च्याम्पियनशिप फुटबल

रेखालाई रातो कार्ड, सुरक्षाको कारण देखाउँदै खेल रोकियो, १२ मिनेटपछि चालु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ११ आइतबार
rakha-redcard.jpg

काठमाडौँ । काठमाडौँमा जारी सातौँ संस्करणको साफ महिला च्याम्पियनशिप फुटबलको दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिडिरहेका छन् ।

खेलको ५१ औँ मिनेटमा सर्वाधिक गोलकर्ता रेखा पौडेल दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिएसँगै एकाएक सुरक्षा कारण देखाउँदै खेल रोकिएको छ । 

आयोजक अखिल नेपाल फुटबल संघले ६ बजे खेलाउने भनेको खेल झण्डै आधा घण्टा ढिला गरी खेलाएकामा ५१ औँ मिनेटमा रेखाले रातो कार्ड खाएर नेपाली टिम १० जनामा सीमित भएपछि सुरक्षा समस्या भएको थियो । दर्शकले रीसले पानीको बोतल मैदानमा फालेका थिए ।

रेफ्रीले गलत निर्णय गरेको भन्दै दर्शक पनि आक्रोशित भएका थिए । यसअघि ३६ औँ मिनेटमा नेपालले पेनाल्टी पाएको थिएन । नेपालले ३६ औँ मिनेटमा पेनाल्टी पाउनु पर्नेमा रेफ्रीले नदिएपछि नेपालले अग्रता लिने अवसर गुमाएको हो । डी बक्सभित्र भारतीय खेलाडीले ह्याण्ड गरे पनि रेफ्रीले पेनाल्टी नदिएपछि नेपाल चुकेको थियो । 

दुवैतर्फ गोल गर्ने सुन्दर अवसरहरु खेर फालिएका थिए । 

१२ मिनेट अवरुद्ध भएपछि खेल पुनः चालु भएको छ । 

यो खेल हेर्न दशरथ रंगशालामा दर्शकको ओइरो लागेको छ । 

भारत पाँच पटकको विजेता हो भने नेपाल पाँच पटकको उपविजेता हो । साफ च्याम्पियनशिपमा नेपालको सबैभन्दा ठूलो प्रतिद्धन्द्धी भारत नै हो ।  यो खेलको विजेताले फाइनलमा बंगलादेशसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेश ७–१ ले विजयी भएको थियो । 

 



नयाँ