कपिलवस्तु । वर्षेनी कटानको शिकार बन्नुपरेका वाणगंगा नदी किनाराका वासिन्दाहरुकोलागि राहत मिल्ने भएको छ । कपिलवस्तु निर्वाचन क्षेत्र नं ४ मा पर्ने हरर्दौना र कजरहवा गाविसमा तटवन्ध निर्माणको लागी सर्भे सूरुवात गरिएसँगै कपिलबस्तुको वाणगंगा नदी किनारका मानिसहरुले राहतको महशुस गर्न थालेका छन् ।
उक्त क्षेत्रवाट निर्वाचित सांसद सुरेन्द्रराज आचार्य सिचांई राज्यमन्त्री भएपछि सो क्षेत्रको समस्यालाई यसै बर्षबाट सम्वोधन गर्नको लागि स्थलगत अनुगमन र सर्भे सुरुवातको लागि प्राविधिक टोली परिचालन गरिएको मन्त्री आर्चायले बताए ।
आफ्नै निर्वाचन क्षेत्रका सांसद रहेका आचार्य मन्त्री नियुक्त भए पछि टापुको रुपमा रहेको जिल्लाका दुई गाविसस्थानीयले हर्षोल्लास मनाएको थिए । उनी मन्त्रीभएपछि स्थानीयको अपेक्षा अनुरुप सर्भेको काम सुरू भएको स्थानीयले जानकारी दिए ।
नेपाली काँग्रेसको जिल्ला सभापति समेत रहेका आचार्य पार्टी कोटाबाट राज्यमन्त्रीमा सपथ लिँदै गर्दा उनीहरुले सो आशा राखेका थिए । तर अपेक्षा अनुरुप काम सुरूभएपछि भने स्थानीयमा झनै हर्षाेल्लास मनाएका हुने ।
वर्षाको समयमा कतिबेला नदी कटान बढने हो र घर डुबानमा पर्ने हो भन्ने चिन्तामा रहेका स्थानीयहरुको लागि लामोसमयदेखि नदी किनारमा तटबन्धको आवश्यकता रहेको थियो । वर्षौदेखी नदी कटानको समस्या झेल्दै आएका हर्दौना गाबिसको वडा नम्बर १ देखी ४ सम्म नदी कटानको चपेटामा परेको स्थानिय राकेश रैदासले बताए ।
“नदी कटान र बाढीबाट हुने डुबानले बर्षा लागे पछि हामीलाई निद्रा लाग्दैन । हाम्रा बालबालिका ढुक्क संग पढ्न लेख्न पाउदैनन । हामी सबैको चाहना भनेकै पहिलो प्राथमिकतामा बाणगंगा नदीमा तटबन्ध गरि नदी कटानलाई नियन्त्रण गरियोस भन्ने हो ।” उनले भने ।
यस वर्षको बाढीले अधिकांस घर डुबानमा परेको उनले बताए । नदी कटानकै कारण खेतबारी नदी बनी सकेको र डुबानले खाद्यान्न लत्ताकपडा नष्ट हुने समस्या भोग्नु परेको उनले बताए । “हामी जिल्ला देखी केन्द्र सम्म डेलिगेसन गएर भए पनि नदी कटानको समस्या स्थाई समाधानको पहल गर्ने योजनामा छौ । ”
उता हर्दौना गाविसका गाविस सचिव कृष्ण प्रसाद गौतमले गाविसले तटवन्धन निर्माणमा लगानी गर्न समस्या भएको बताए । गाविसको रकमले नभ्याउने हुंँदा केन्द्रबाट नै योजना स्वीकृत गरी काम गर्नुपर्ने बताए ।
जल उत्पन्न प्रकोप व्यवस्थान कार्यालय गोरुसिङ्गेका कार्यालय प्रमुख इन्जिनियर दिनेश रेग्मी सहितको प्राविधिक टोलीले स्थलगत सर्वेक्षण गरेको छ । सर्वेक्षणको प्राप्त नतिजा र कार्य अनुसार तटवन्ध निर्माणको लागि बजेट व्यवस्थापन गरी कार्यान्यन गर्ने तयारी भएको प्रमुख रेग्मीले बताए ।
प्राविधिक सर्वेका आधारमा योजना बनाई बजेट बारे व्यवस्थापन भएपछि काम सुरुवात गर्न सकिने रेग्मीले बताए । राज्य मन्त्री आर्चायले पाविधिक योजना तयार भएपछि मन्त्रालयबाट बजेट विनियोनको प्रक्रिया सुरु गरी सो कार्य अगाडि बढाउने बताए ।