arrow

सहकारी ठगी प्रकरण

सहकारी ठग आरोपी रविलाई रुपन्देही प्रहरीले मात्र हैन काठमाडौँले पनि खोज्दै

रविलाई बचाउन प्रतिशोध नामक शब्दजाल बुनेर आन्दोलित, कार्यकर्ता फकाउँदा हैरान, नेताहरु दुई धारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १३ मंगलबार
ravi-lamichhane-arrest-81-7-4.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा प्रदर्शन गर्दैछ । रास्वपाले आफ्ना सभापति रवि लामिछाने राजनीतिक प्रतिशोधका आधारमा पक्राउ परेको भन्दै प्रदर्शन गरिरहेको छ ।

रास्पवाले दुई तिहाई सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न बालुवाटारमा नेपाल हाउसको अगाडि मध्यान्ह १२ बजेदेखि प्रदर्शन गर्ने जनाएको छ ।

यसअघि पोखरा केन्द्रित प्रदर्शन गरेको रास्वपाले अहिले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भने पनि सशक्त आन्दोलन गर्न अलमल गरेको छ । कार्यकर्ता फकाउँदा रास्वपा हैरान परेको छ । 

रास्वपाभित्र पनि इमानदार र बेइमान नेताहरुबीच कित्ताकाट भइरहेकोसमेत पाइएको छ । जसका कारण इमानदारको राजनीति गर्ने केही नेताहरु बौद्धिक भएकाले पनि उनीहरुले यदि रवि बेइमान हो भने बचाउनका लागि पछि लाग्दा पार्टी संगठन नै कमजोर हुने र जनतालेसमेत विश्वास नगर्ने भन्दै आलोचना गरिरहेका छन् । 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका लामिछानेको पक्षमा प्रदर्शन गरिरहेको रास्वपाले आम रुपमा जनताको समर्थन पाउन नसकेपछि आन्दोलनको स्वरूप परिवर्तन गरेको देखिएको छ ।

रविलाई कास्कीबाटमात्र हैन रुपन्देही प्रहरीलेसमेत पक्राउ पुर्जी जारी गरेको छ । उनीमाथि काठमाडौँमा पनि अनुसन्धान भइरहेको छ । देशका पाँच सहकारीमा उनको ठगी प्रकरण रहेकाले सबै ठाउँबाट पक्राउ पुर्जी जारी हुने देखिन्छ । 

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको उजुरीको पनि अनुसन्धान
रविलाई रास्वपाले प्रतिशोधको राजनीतिका कारण पक्राउ गरिएको भने पनि उनीमाथि कारबाहीका यथेष्ट प्रमाण छन् । उनीमाथि नै अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिलेसमेत उनलाई दोषी देखाएको थियो । 

उनीमाथि कास्की जिल्ला प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएसँगै गत कार्तिक २ गते पक्राउ परेपछि कार्तिक ३ देखि कास्कीमै हिरासतमा छन् । 

उनलाई त्यहाँबाट रुपन्देही जिल्ला प्रहरीले लैजानेछ । यसै क्रममा काठमाडौँ प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताले दिएको उजुरीमा प्रहरीले छानबिन फेरि खुलेको हो । 

स्वर्णलक्ष्मी सहकारी रविका गोर्खा मिडिया प्रालिका साझेदार जीबी राईको हो । जीबी फरार छन् । रवि पक्राउ परेका छन् । गोर्खा मिडियाकै छविलाल जोशी पनि कास्की प्रहरीको हिरासतमा छन् । 

जीबीको उक्त सहकारीका बचतकर्ताले दानबहादुर कार्की काठमाडौं प्रहरी परिसरको प्रमुख हुँदा करिब डेढ बर्षअघि नै जाहेरी दिएका थिए । तर परिसरमा दर्ता भएको जाहेरीमा अनुसन्धान नगरी पीडितलाई थप पीडा दिइएको थियो । 

कार्कीले अनुसन्धान नगरी पेन्डिङमा राखेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अहिले रविमाथि अनुसन्धान अघि बढेको हो । 

लामिछानेविरुद्ध परेको स्वर्णलक्ष्मीको जाहेरीमा मात्र होइन, तत्कालीन एसएसपी कार्कीले लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा तामेलीमा राख्न सिफारिस गरेका थिए । 

राहदानी मामिला र स्वर्णलक्ष्मीदेखि पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताले दिएको जाहेरी नै दर्ता नगर्ने वातावरण मिलाएबापत कार्कीलाई लामिछानेले गृहमन्त्री हुँदा पहिलो वरीयतामा डीआईजी बढुवा गरेका थिए । 

रविले आफू गृहमन्त्री हुँदा प्रहरीमाथि हस्तक्षेपकारी भूमिका खेलेर सरुवा र बढुवामा निकै चलखेल गरे पनि उनी बच्ने आधार भने कतैबाट पनि देखिँदैन । अब रविलाई काठमाडौँ प्रहरीले पनि पक्राउ पुर्जी जारी गर्ने सम्भावना रहेको स्रोतले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ