arrow

अपाङ्गमैत्री कानून निर्माणमा सरकार प्रतिबद्ध छः मन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १३ मंगलबार
bindukumar-thapa-minister-2081-07-13.jpg

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अपाङ्गमैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध भएको बताएका छन् ।

स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराले आयोजना गरेको अपाङ्गता अधिकार ऐन तर्जुमाका लागि अपाङ्गता अधिकारकर्मी नेतृत्वको वकालत परियोजनाअन्तर्गत अपाङ्गता भएका व्यक्तिका लागि भौतिक पूर्वाधार, सञ्चार र यातायातमा पहुँचसम्बन्धी अन्तरक्रियामा उनले प्रदेश सरकार अपाङ्गमैत्री बन्दै आएको बताए ।

उनले अपाङ्गताको क्षेत्रमा काम गर्ने संघसंस्थासँग मिलेर प्रदेश सरकार अगाडि बढ्ने उल्लेख गरे । प्रदेशमा बन्ने संरचना अपाङ्गमैत्री बनाउन पहलकदमी गरिने भनाई उनको छ ।

मन्त्री थापाले अपाङ्गताको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै ऐनमा नै सहज वातावरण मिलाउने व्यवस्था गर्ने गरी प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।

सार्वजनिक स्थान, यातायात र अन्य क्षेत्रमा अपाङ्गता भएका व्यक्तिले सहजै काम गर्न सक्ने गरि व्यवस्था गरिने उनले बताए । समानुभूति, समझदारी र समावेशी दृष्टिकोण निर्माण गरि अघि बढ्ने उनको भनाइ छ ।

गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा एमालेकी सचेतक देवका पहारीले सामाजिक क्षेत्रका हरेक विषयमा अपाङ्गतामैत्री वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरिन् ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कुशुमबुढा मगर, राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश प्रमुख नीतु गर्तौला, इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका महिला तथा सामाजिक शाखा प्रमुख मुना अधिकारीलगायतले बालेका थिए ।

स्वालम्बन जीवनपद्धति केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव अञ्जना केसीले गरेकी थिइन् ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्ति र परिवारले भोग्नुपरेको समस्याका विषयमा जानकारी गराइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ