arrow

२०१६ भूमध्यसागरिय क्षेत्रका शरणार्थीका लागि घातक : आईओएम

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
Freetown-PBN_0.jpeg
जेनेभा (स्वीट्जरल्यान्ड) । भूमध्यसागरिय क्षेत्रका आप्रवासीका लागि सन् २०१६ यसअघिका वर्षका तुलनामा झन् घातक भएको शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले मङ्गलबार जनाएको छ । 
 
आईओएमले भूमध्यसागरिय बाटो भएर युरोपेली मुलुक पुग्ने प्रयासमा यस वर्ष चार हजार ९०१ आप्रवासी तथा शरणार्थीले ज्यान गुमाएका जनाएको छ । 
 
सन् २०१५ मा यही बाटो युरोप पुग्ने प्रयासमा ३ हजार ७७७ व्यक्तिले ज्यान गुमाएका थिए । सन् २०१५ मा प्रति २६७ व्यक्तिले युरोप पुगन गरेको प्रयासमा एक जनाले ज्यान गुमाउनु परेको आईओएमको तथ्याङ्क थियो । 
 
आईओएमको पछिल्लो तथ्याङ्कअनुसार आप्रवासी तथा शरणार्थीको युरोप जाने क्रममा भूमध्यसागरिय क्षेत्रको उत्तर अफ्रिकी बाटो हुँदै इटाली पुग्ने क्रममा सबैभन्दा बढी (चार हजार ४०३ ) जनाको ज्यान गएको थियो । 
 
त्यसैगरी यस वर्ष पूर्वी भूमध्यसागरीय बाटो, जसले टर्की र ग्रीसलाई छुट्टाउँछ, मा ४२९ जना आप्रवासी तथा शरणार्थीको मृत्यु भएको छ । बाँकी सबै पश्चिमी भूमध्यसागरीय बाटोमा भएका दुर्घटनामा मृत्यु भएका बताइएको छ । 
 
गत वर्षको तुलनामा यस क्षेत्रबाट युरोप पुग्ने शरणार्थीको सङ्ख्यामा उल्लेख्य कमी आएको भेटिए पनि असुरक्षित यात्राका कारण ज्यान गुमाउनेको सङ्ख्या भने बढी देखिएको छ । 
 
सन् २०१५ मा युरोप प्रवेश गर्ने आप्रवासीको सङ्ख्या १० लाखभन्दा बढी रहेकोमा सन् २०१६ को अहिलेसम्ममा भने सो सङ्ख्या ३ लाख ५८ हजार १५६ पुगेको आईओएमले बताएको छ ।सिन्ह्वा 



नयाँ