- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । साफ महिला च्याम्पियनशिप फुटबलको सातौँ संस्करणको फाइनल खेल आज साँझ हुँदैछ । फाइनलमा नेपाल र बंगलादेश भिड्दै छन् । यो फाइनल छैटौँ संस्करणको पुनरावृत्तिसमेत हो ।
छैटौँ संस्करणमा दशरथ रंगशालामै नेपाल र बैंगलादेश नै भिडेका थिए । त्यतिबेला बंगलादेश विजयी भएको थियो । बंगलादेशले अहिलेसम्म एउटा उपाधि जितेको छ । नेपालले एउटा उपाधि पनि जितेको छैन ।
नेपाल छैटौँ पटक फाइनलमा पुगेको छ । तनावपूर्ण सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । छैटौँ संस्करणमा पनि नेपालले भारतलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।
त्यस्तै बंगलादेशले सेमिफाइनलमा भुटानलाई ७–१ ले हराएर फाइनलमा ठाउँ बनाएको हो । छैटौँ संस्करणमा पनि बंगलादेशले भुटानलाई नै हराएर फाइनलमा पुगेको थियो ।
यता दुवै टिमका कप्तानले उपाधि आफूले नै जित्ने दाबी गरेका छन् । दशरथ रंगशालामा नेपालले १२ औँ खेलाडीका रुपमा अथाह दर्शकको माया पाउने छ भने बंगलादेशले त्यो अवसर पाउने छैन ।
टिकटमा नयाँ व्यवस्था
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फाइनल खेलको टिकट बिक्रीका लागि नयाँ व्यवस्था गरेको छ । एन्फाले यसअघि सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेष्ट टिकट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै अनलाइन टिकट बिक्री बन्द गरेको थियो ।
१५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढीलाई प्रवेश दिएको पाइएपछि एन्फाले हस्तक्षेप गरेको छ । टिकट आज बिहान ८ बजेदेखि जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी गेटबाट बिक्री भइरहेको छ ।
एन्फाले फाइनल खेलको अधिकतम १० हजार टिकट बिक्री गर्ने जनाएको छ । एन्फाले एक व्यक्तिलाई भीआईपी तर्फको २ र साधारण तर्फको ५ टिकटमात्र किन्न पाउने बताएको छ ।
एन्फाका अनुसार अब फाइनलको टिकट अनलाइन टिकट बिक्री नहुने भएको छ । साथै एन्फाले यसअघि अनलाइन खरिद गरेकाको पैसा फिर्ता गर्ने जनाएको छ ।
रंगशालामा भीआईपीतर्फको एक हजार र साधारणतर्फ ५०० रुपैयाँ टिकट दर तोकिएको छ ।
यी वस्तु रंगशालाभित्र लैजान मनाही
एन्फाले फाइनल हेर्न जाने दर्शकलाई विशेष निगरानी गर्ने भएको छ । कार्तिक ११ गते दशरथ रङ्गशालामा नेपाल र भारतबीचको सेमिफाइनल खेलमा भएको घटनाक्रमपछि एन्फाले सुरक्षामा विशेष ध्यान दिने बताएको हो ।
एन्फाले आज हुने फाइनल खेल गर्न जाने दर्शकले दशरथ रङ्गशालाभित्र कुनै पनि प्रकारका धारिला हातहतियार, चुरोट, लाइटर, सलाइ, मदिरा र अन्य नशालु पदार्थ, ठूला ब्याग तथा हेल्मेट लान निषेध गरेको जानकारी दिएको छ ।
त्यस्तै अनुमति बिना ब्यानर, झण्डा, पोस्टर, पानीको बोतल, क्यान, पत्थर र अन्य फ्याँक्न मिल्ने धातुका मुद्रा, सिक्का कुनै पनि प्रकारका लागुऔषध, छाता, लिबिस्टिक, नेल कटर, कैँची, काइयोलगायतका सामग्री रङ्गशालाभित्र लान निषेध गरिएको एन्फाले जनाएको छ ।