नेपाल र बंगलादेश मैदानमा, दोस्रो मिनेटदेखि नै नेपाल दबाबमा, डिफेन्स कमजोर
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १४ बुधबार
552
Shares
काठमाडौँ । साफ महिला च्याम्पियनशिपको फाइनल खेल अहिले भइरहेको छ । नेपाल र बंगलादेश भिडिरहेका छन् । खेलको दोस्रो मिनेटमै नेपाल गोल खानबाट बचेको छ ।
नेपालको गल्तीको फाइदा उठाउँदै बंगलादेशले बल अगाडि बढाएको भए पनि गोल गर्नबाट भने चुकेको छ । नेपालको डिफेन्स लाइन कमजोर देखिएको छ ।
नेपालले पनि गोलका लागि प्रयास गरेको भए पनि लक्ष्यमा पुग्न सकेको छैन ।
साँझ ६ः३१ बजेदेखि दशरथ रंगशालामा शुरु भएको खेलमा दुवै टिमले आक्रामक खेलिरहेका छन् ।
यो फाइनल छैटौँ संस्करणको पुनरावृत्तिसमेत हो । छैटौँ संस्करणमा दशरथ रंगशालामै नेपाल र बैंगलादेश नै भिडेका थिए । त्यतिबेला बंगलादेश ३–१ ले सहजै विजयी भएको थियो । बंगलादेशले अहिलेसम्म एउटा उपाधि जितेको छ । नेपालले एउटा उपाधि पनि जितेको छैन ।
नेपाल छैटौँ पटक फाइनलमा पुगेको छ । तनावपूर्ण सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । छैटौँ संस्करणमा पनि नेपालले भारतलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।
त्यस्तै बंगलादेशले सेमिफाइनलमा भुटानलाई ७–१ ले हराएर फाइनलमा ठाउँ बनाएको हो । छैटौँ संस्करणमा पनि बंगलादेशले भुटानलाई नै हराएर फाइनलमा पुगेको थियो ।
यता दुवै टिमका कप्तानले उपाधि आफूले नै जित्ने दाबी गरेका छन् । दशरथ रंगशालामा नेपालले १२ औँ खेलाडीका रुपमा अथाह दर्शकको माया पाउने छ भने बंगलादेशले त्यो अवसर पाउने छैन ।