- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । साफ महिला च्याम्पियनशिपको फाइनल खेल अहिले भइरहेको छ । नेपाल र बंगलादेश भिडिरहेका छन् । खेलको मध्यान्तरसम्म गोलरहित बराबरी भएको छ ।
खेलमा बंगलादेशले पाएका धेरै अवसरलाई कप्तान एवं गोलकिपर एन्जिला तुम्बापो सुब्बाले विफल पारेकी छिन् । नेपालको डिफेन्स लाइन भने तुलनात्मक रुपमा कमजोर देखिएको छ ।
खेलको दोस्रो मिनेटमै नेपाल गोल खानबाट बचेको थियो । नेपालको गल्तीको फाइदा उठाउँदै बंगलादेशले बल अगाडि बढाएको भए पनि गोल गर्नबाट भने चुकेको छ ।
साँझ ६ः३१ बजेदेखि दशरथ रंगशालामा शुरु भएको खेलको दशौँ मिनेटमा नेपालकी अमिषा कार्कीले प्रहार गरेको बल बारमा लागेर फर्केको थियो । खेलको २० औँ मिनेटमा अमृता जैशीले पहेँलो कार्ड खाएकी छिन् ।
नेपालका लागि सावित्रा भण्डारीले गोलका लागि प्रयास गरे पनि उनलाई साथ दिने खेलाडी नहुँदा गोलका लागि नेपाल सफल हुन सकेको छैन ।
मध्यान्तरसम्म बंगलादेशले गोलका लागि ६ वटा प्रहार गरेको छ भने नेपालले ३ वटामात्र प्रहार गरेको छ । गोलका लागि भने दुवैले बराबर २ प्रहार गरेका छन् ।
बंगलादेशले एउटा कर्नर पाउँदा नेपालले कर्नर पाएन । बंगलादेशले ३ तथा नेपालले २ फाउल खेलेको छ ।
यो फाइनल छैटौँ संस्करणको पुनरावृत्तिसमेत हो । छैटौँ संस्करणमा दशरथ रंगशालामै नेपाल र बैंगलादेश नै भिडेका थिए । त्यतिबेला बंगलादेश ३–१ ले सहजै विजयी भएको थियो । बंगलादेशले अहिलेसम्म एउटा उपाधि जितेको छ । नेपालले एउटा उपाधि पनि जितेको छैन ।
नेपाल छैटौँ पटक फाइनलमा पुगेको छ । तनावपूर्ण सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । छैटौँ संस्करणमा पनि नेपालले भारतलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।
त्यस्तै बंगलादेशले सेमिफाइनलमा भुटानलाई ७–१ ले हराएर फाइनलमा ठाउँ बनाएको हो । छैटौँ संस्करणमा पनि बंगलादेशले भुटानलाई नै हराएर फाइनलमा पुगेको थियो ।
यता दुवै टिमका कप्तानले उपाधि आफूले नै जित्ने दाबी गरेका छन् । दशरथ रंगशालामा नेपालले १२ औँ खेलाडीका रुपमा अथाह दर्शकको माया पाउने छ भने बंगलादेशले त्यो अवसर पाउने छैन ।
करियरमा १२ औँ अन्तर्राष्ट्रिय फाइनल, खोजी मेडन उपाधिको
नेपाली पुरुष टिमले सन् १९८१ मा अन्तर्राष्ट्रिय फुटबल खेल्ने मान्यता पाएकामा महिला टिमले भने सन् १९८६ देखिमात्र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको हो ।
यो ३८ वर्षको अवधिमा नेपाल आजको फाइनलसमेत गरेर १२ पटक फाइनलमा पुगेको छ । यसअघिका ११ औँ फाइनलमा पुगेर नेपाल उपविजेतामा सीमित हुँदै आएको छ । साफमा मात्र यो पटकसमेत गरेर ६ पटक फाइनलमा पुगेको छ ।
यसअघिका पाँचै संस्करणमा नेपाल उपविजेतामा सीमित भयो । चार पटक त नेपाललाई फाइनलमा भारतले हराएको थियो । तर सुखानुभूति चाहिँ के भने गत संस्करण र यो संस्करण गरी लगातार दोस्रो पटक नेपालले सेमिफाइनलमा भारतलाई नै हराएर फाइनलमा स्थान बनाएको छ ।
नेपालले तेस्रो पटक साफको आयोजना गरेको हो । यसअघिका दुवै संस्करणमा उपविजेतामा सीमित नेपालले यसपटक हारको डेडलक तोड्ने आशा गरिएको छ ।
हङकङविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेदेखि नेपालले थुप्रै अन्तर्राष्ट्रि खेल खेल्यो । तर उपाधिको खडेरी अहिलेसम्म तोडिएको छैन ।
यसअघि पाँच पटक साफ महिला च्याम्पियनशिप, तीन पटक साग गेम्स, एक पटक हिरो कप, एक पटक नादेज्दा कप र एक पटक पश्चिम एसिया विमन्स च्याम्पियनशिप (वाफ) को फाइनल खेलेको थियो । सबैमा हार व्यहोरेको छ ।
११ फाइनल खेल्दा नेपालले सात पटक भारतसँग हारेको छ । त्यस्तै बंगलादेश, म्यानमार, ताजकिस्तान र जोर्डनसँग नेपालले एक–एक पटक फाइनलमा हार बेहोरेको छ ।
यसपालि नेपालले पुरानो हारको निरन्तरता तोडेर नयाँ इतिहास लेखाउनु छ ।