- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबल समाप्त भएसँगै नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी साम्बा व्यावसायिक फुटबल खेल्न आज फ्रान्स प्रस्थान गरेकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशसँग नेपाल २–१ ले गोलअन्तरले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । योसँगै बङ्गलादेशले भने साफ च्याम्पियशिपमा दोस्रोपटक उपाधि जित्न सफल भएको हो ।
यसअघि सन् २०२२ मा नेपालमा आयोजित उक्त च्याम्पियनशिपको फाइनल खेलमा नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । साफ च्याम्पियनशिपको फाइनलमा नेपालको भने यो छैटौँ पराजय हो ।
सन् १९९६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नेपाल अहिलेसम्म १२ ओटा फाइनलमा उपविजेता भएको छ । एउटा पनि उपाधि हात पारेको छैन ।
फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग ‘प्रिमियरा लिग’ मा इए अभान्ट गुएग्यापबाट खेलिरहेकी सावित्रा राष्ट्रिय टोलीबाट साफ च्याम्पियनसिप खेल्न नेपाल आएकी थिइन् ।
साफ च्याम्पियनशिपमा उनले समूह चरणको पहिलो भुटान विरुद्धको खेल गुमाएकी थिइन् भने माल्दिभ्स विरुद्धको खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले उनलाई आराम दिएका थिए ।
सवित्राले समूह चरणको अन्तिम खेलमा श्रीलङ्काविरुद्ध र सेमिफाइनलमा भारतविरुद्धको खेलमा समान एक–एक गोल गरेकी थिइन् । यस साफ च्याम्पियनशिपमा नेपाल उपविजेता भएसँगै नेपाली टोलीका मुख्य प्रशिक्षक तामाङले बुधबार नै आफ्नो पदबाट राजीनामा दिएका छन् ।