arrow

मानवसेवा आश्रमलाई नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १६ शुक्रबार
himalaya-club-pokhara.jpg

पोखरा । यस वर्षको नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ ।

पोखराको बाटुलेचौरस्थित हिमालय क्लबले सञ्चालन गरेको सो पुरस्कार मानव सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै आश्रमलाई प्रदान गरिने घोषणा गरेको हो । पुरस्कारको राशि १५ हजार नगद रहेको छ ।

पुरस्कारका लागि पूर्वअध्यक्ष जीवनारायण श्रेष्ठ संयोजक, निवर्तमान अध्यक्ष सुशील बस्नेत, पूर्वअध्यक्ष ताराप्रसाद तिमिल्सिना, सल्लाहकार खिमलाल अधिकारी र संस्थापक मध्यबाट यादवचन्द्र देवकोटा सदस्य रहकोे छनोट समितिले गरेको निर्णयलाई क्लबले अनुमोदन गरेको हो ।

क्लबको २८औँ स्थापना दिवस यही कार्तिक २२ गतेका दिन पुरस्कार प्रदान गरिने सूचना अधिकारी शिवराज देवकोटाले जानकारी दिए ।

सो पुरस्कार यसअघि उद्योगपति गणेशबहादुर श्रेष्ठ, तेजबहादुर गुरुङ, गोविन्दबहादुर केसी, अग्रज भलिबल खेलाडी उदयबहादुर बस्नेत, सिद्धार्थ क्लब र नवआदर्श सामुदायिक विकास संस्थालाई प्रदान गरिएको थियो ।

सो अवसरमा पवित्र प्रेमनारायण शैक्षिक पुरस्कार वडा नं. १६ भित्रका सरकारी विद्यालयबाट कक्षा १२ को परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विन्ध्यवासिनी माविकी श्रेया आचार्य र आशिष पोखरेललाई सम्मान गरिनेछ ।

यसैगरी एकल महिला सहयोग बाटुलेचौरका बिबा नेपाली र अर्मलाका तीला विकलाई गरिने क्लबले जनाएको छ ।

यस्तै समाजसेवी कृष्णप्रसाद अधिकारी र प्रभा कोईरालाद्वारा स्थापित सावित्री-लीलाधर उत्कृष्ट कृषक पुरस्कार चमेरी गुफा कृषक समूहलाई प्रदान गरिने क्लब अध्यक्ष मोहनबहादुर थापाले जानकारी दिए ।

स्थापना दिवसको तयारी तीब्ररुपमा अघि बढाइएको अध्यक्ष थापाले बताए । दिवसको अवसरमा रक्तदान, चियापान तथा सांस्कृतिक कार्यक्रमममेत हुनेछ ।

अध्यक्ष थापाले विभिन्न महामारीका कारण पोखरामा रगतको अभाव देखिएकाले रक्तदान गर्न आग्रह गरे ।

मूल समारोह समिति संयोजक प्रकाश थापाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार दुर्गा केसी थापा, निवर्तमान अध्यक्ष सुशील बस्नेत, पूर्वअध्यक्ष जीवनारायण श्रेष्ठ, कालिका मन्दिर कोत मामलियत व्यवस्थापन समिति कोषाध्यक्ष बलराम भट्टराई, पूर्वअध्यक्ष जीवनारायण श्रेष्ठलगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सचिव तुलबहादुर बस्नेतले गरेका थिए ।

सोही अवसरमा क्लब र कालिका मन्दिर कोत मामलियत व्यवस्थापन समितिले नवदुर्गामा कालिका मन्दिरमा आयोजना गरेको दुर्गा पूजाको आयव्यय सार्वजनिक गरेको छ ।

पूजामा एक लाख ६ हजार आठ सय ५० आम्दानी भएकोमा ४० हजार ७५ रुपैयाँ खर्च भई ६६ हजार सात सय ७५ रुपैयाँ बचत भएको कोषाध्यक्ष बलराम भट्टराईले जानकारी दिए ।

बचत रकममध्येबाट ३३ हजार तीन सय ८७ रुपैयाँ मन्दिरलाई हस्तान्तरण गरिएको छ ।



नयाँ