- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । एक रुसी रकेटले मङ्गलबार बिहान दुईवटा निजी क्षेत्रद्वारा निर्मित इरानी उपग्रहहरूलाई कक्षमा प्रक्षेपण गर्ने मस्कोस्थित इरानी दूतावासवले बताएको छ । मस्को र तेहरानबीचको नजिकको अन्तरिक्ष सहयोगको रूपमा यसलाई स्वागत गरिएको छ ।
युक्रेनमाथिको रुसी सैन्य कारबाही र मध्यपूर्वमा भइरहेको द्वन्द्वका बीच यी दुई देशले सम्बन्ध र व्यापार बढाएका छन् । यसमा अन्तरिक्ष प्रक्षेपण उनीहरूको बढ्दो साझेदारीको एउटा पक्ष मात्र हो ।
“इरान-रुस वैज्ञानिक र प्राविधिक सहयोगको विकासको निरन्तरतामा दुईवटा इरानी उपग्रह - कोस्वार र होधहोद - पाँच सय किलोमिटरको कक्षमा प्रक्षेपण गरिनेछ”, मस्कोमा इरानका राजदूत काजेम जलालीले सोमबार सामाजिक सञ्जालमा भने ।
उनका अनुसार प्रक्षेपण तेहरान समयअनुसार ०२:४८ (सोमबार २३:१८ जीएमटी) मा रुसी सोयुज रकेट प्रयोग गरेर हुनेछ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार इमेजिङ र सञ्चार उपग्रहहरू इरानको ओमिद फजा कम्पनीद्वारा डिजाइन र निर्माण गरिएका हुन् र यसले कृषि, वातावरणीय अनुगमन र दूरदराजका क्षेत्रहरूमा सञ्चारलाई सहयोग गर्नेछ ।
रुसले पहिले पनि केही इरानी उपग्रहहरू प्रक्षेपण गरेको थियो तर जलालीका अनुसार यो निजी क्षेत्रको पहिलो पहल हो ।
“यी दुई उपग्रहको प्रक्षेपणसँगै इस्लामिक गणतन्त्र इरानको निजी क्षेत्रको अन्तरिक्ष क्षेत्रमा प्रवेशको दिशामा एउटा दृढ र निर्णायक पहिलो कदम चालिने आशा छ”, उनले भने ।
उही प्रविधि आणविक-सज्जित ब्यालिस्टिक मिसाइलहरू प्रक्षेपण गर्न पनि प्रयोग गर्न सकिने भन्ने डरले पश्चिमी देशहरूले इरानको नवोदित अन्तरिक्ष कार्यक्रमप्रति चिन्ता व्यक्त गरेका छन् ।
तेहरानले उसको अन्तरिक्ष कार्यक्रम शान्तिपूर्ण रहेको भन्दै यो संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावसँग मेल खाने बताएको छ । सुरक्षा परिषद्ले इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई सीमित गर्ने लक्ष्य राख्छ ।
मस्कोलाई युक्रेनमाथिको आक्रमणमा इरानी सैन्य हार्डवेयर र प्रविधि विशेषगरी स्व-विस्फोटक शाहेद ड्रोनहरू प्रयोग गरेको आरोप लगाइएको छ ।