arrow

उपनिर्वाचनः मोरङको ग्रामथानमा कांग्रेस र माओवादीको उम्मेदवार लाग्यो टुङ्गो 

logo
विवेक मिश्र, 
प्रकाशित २०८१ कार्तिक २३ शुक्रबार
upanirwachan-2081.jpeg

मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी टुङ्ग्याएका छन् । 

कांग्रेसले ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । जिल्ला सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा बिहीबार बसेको बैठकले सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

पालिका कमिटीबाट ११ जनाको नाम सिफारिस भएकोमा कांग्रेस मोरङको संसदीय समितिले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैगरी माओवादी केन्द्रले पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । त्यस्तै, नेकपा एमालेले तीन जनाको सूची प्रदेश कमिटीमा पठाएको छ । बिहीबार एमालेले सम्भावित तीन जना उम्मेदवारको नाम मोरङले प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

गाउँपालिका कमिटीबाट ११ जनाको नाम सिफारिस आएकोमा जिल्लाबाट तुलसी विश्वास, कृष्णकुमार माझी र निर्मला अधिकारीको नाम प्रदेशमा सिफारिस गरिएको एमाले मोरङ इञ्चार्ज जीवन घिमिरेले जानकारी दिए । 

यसैगरी अन्य राजनीतिक दलले भने ग्रामथानको चुनावका लागि गरेको तयारी सार्वजनिक भइसकेको छैन । कोशी प्रदेशमा विभिन्न ९ पदमा उपनिर्वाचन हुन लागेको छ । 

त्यसमध्ये ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखपछि ग्रामथान गाउँपालिका अध्यक्ष पदमा हुने निर्वाचनमै सबैको ध्यान केन्द्रित देखिएको छ ।

स्थानीय तहको २०७९ सालमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित जयप्रकाश गच्छदारको हृदयघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।



नयाँ