- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने खबरप्रति आपत्ति जनाएका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै आफू सम्पर्कविहीन नभएको स्पष्ट पारेका छन् । उनले अदालतको फैसलापछि निरन्तर फोन आउन थालेपछि मोवाइल बन्द गरेको बताएका छन् । उनले भने, ‘मोवाइल बन्द हुँदैमा सम्पर्कविहीन भएको भन्ने समाचारप्रति मेरो आपत्ति छ ।’
साथै मनाङेले सर्वोच्चको फैसला आफ्नाविरुद्धमा आएको जानकारी पाएको भन्दै फैसलाको पूर्णपाठ प्राप्त भएपछि अदालतमै उपस्थित हुने विज्ञप्तिमार्फत बताएका छन् ।
सर्वोच्च अदालतले गत मंगलबार मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै दोषी ठहर गरेको हो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने फैसला सुनाएको थियो । सर्वोच्च अदालतले सोही फैसलालाई सदर गरेको हो ।
विसं २०६१ सालमा दीपक मनाङे उर्फ ‘राजीव गुरुङ’ को गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमण गरेको थियो ।
ज्यान मार्ने मनसायले आक्रमण गरिएको उल्लेख गरेर मनाङेमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको थियो । उक्त अदालतले सामान्य कुटपिट मात्रै भएको उल्लेख गर्दै मनाङेलाई दुई वर्ष कैद सजाय सुनाएको थियो ।
जिल्ला अदालतको फैसलाविरुद्ध उक्त मुद्दा तत्कालीन पुनरावेदन अदालत पाटनमा दायर भएको थियो । पुनरावेदन अदालतले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्षको जेल सजाय ठहर गरेको थियो ।
मनाङे दुई पटक प्रदेशसभा सदस्य र ६ पटक मन्त्री भइसकेका व्यक्ति हुन् । उनी आगामी निर्वाचनमा मनाङबाट संघीय सांसद बन्ने चर्चा थियो । अदालतको फैसलासँगै उनको राजनीतिक भविष्य लभभग समाप्त भएको छ ।
प्रेस विज्ञप्ति