arrow

जाग्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवामा जजिराले भर्‍यो उडान, दिउँसो र राति दुई विमानले उडान भर्ने

दुई वर्ष त्यत्तिकै थन्किएको अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन तीन विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै

logo
नारायण वली,
प्रकाशित २०८१ कार्तिक २४ शनिबार
jajeera 13.jpg

लुम्बिनी । दुई वर्षअघि उद्घाटन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लामो समयसम्म प्रयोगमा नआउँदा रुपन्देहीबासीहरुमा निराशा बढेको थियो । २०७९ साल जेठ १ गते २५६६औँ बुद्ध जयन्तीको अवसर पारेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे पनि हालसम्म कुनै एयरलाइन्सले उडान भर्ने चासो दिएनन् ।

तर पछिल्लो समय थाइ एयरवेजले तिहारको भाइटीका दिनदेखि हप्ताको दुई दिन उडान शुरु गर्ने गरी उडान भरेपछि थप तीन वटा विमान कम्पनीहरुले पनि उडान भर्ने भएका छन् ।

सोही अनुरुप आज जजिरा एयरवेजले बिहान साढे ७ बजे भैरहवा ल्यान्डिङ गरेको छ भने ८ बजे पुनः उडान भरेको र फ्लाइ दुबई दिउँसो १ बजेर ४५ मिनेटमा आउनेछ भने २ बजेर ४५ मिनेटमा भैरहवा, काठमाडौँ हुँदै दुबई उडान भर्नेछ । 

त्यस्तै नेपाल एयरलाइन्सले राति १० बजेर २० मिनेटमा काठमाडौँबाट भैरहवा आएर ११ बजेर २५ मिनेटमा दुबई उडान भर्ने तालिका रहेको गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले हाम्राकुरालाई बताए ।

कार्तिक २४ गतेदेखि भैरहवामा हप्ताको सातै दिन फ्लाइ दुबईले उडान गर्नेछ भने जजिराले हप्तामा तीन दिन उडान गर्नेछ । थाइ एसियाले सोमबार र बिहीबार भैरहवा–बैंकक उडान गर्ने छ, जजिराले भैरहवा–कुवेत र फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई उडान गर्ने सूचना अधिकारी रावतको भनाइ छ ।

२०७९ जेठमा सञ्चालन भए यता जजिराले केही समय उडान गरेर आफ्नो सेवा बन्द गरेको थियो भने हिमालय एयरलाइन्सले पनि मलेसिया उडान गर्ने प्रयास गरेको थियो । नेपाल वायुसेवा निगमले भने भैरहवाबाट मलेसिया उडान गरिरहेको छ । उसले हप्ताको एक दिन भैरहवाबाट उडान गर्दै आएको छ ।

विभिन्न वायुसेवा कम्पनीले चासो देखाए पनि उडान नियमित हुन नसक्दा विमानस्थल निर्माण गर्दाको लागत र विमानस्थललाई मध्यनजर गरी विभिन्न क्षेत्रमा लगानी गरेका व्यवसायीहरु निराश बन्दै गएका बेला अन्र्तराष्ट्रिय उडानले आशाको सञ्चार छाएको नेपाल एसोशिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का लुम्बिनी प्रदेश पूर्वअध्यक्ष सागर अधिकारी बताउँछन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन विदेशी एयरलाइन्सले नियमित उडान गर्ने भएपछि स्थानीय व्यवसायी उत्साहित हुँदै अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन सबैले हातेमालो गर्न जरुरी रहेको बताएका छन् ।

तीन वटा विमान कम्पनीले नियमित उडान भर्ने भएपछि लुम्बिनीमा आशाको सञ्चार छाएको नेपाल एसोशिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का लुम्बिनी प्रदेश पूर्वअध्यक्ष सागर अधिकारीले बताए । 

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईले गौतमबुद्ध विमानस्थल लक्षित समूह नै बुद्धमार्गी भएकाले यहाँबाट चीन, भारत, श्रीलङ्का, थाइल्यान्डजस्ता देशमा नियमित सिधा उडानलाई निरन्तरता दिन सकेमा लुम्बिनीमा बाह्य पर्यटकको संख्यामा उल्लेख्य  हुने अपेक्षा राखे । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नागरिकलाई काठमाडौँबाट विदेश जानुभन्दा भैरहवाबाट जाँदा सस्तो र सहज पर्ने गरी व्यावसायिक वातावरण बनाउने दायित्व निजी क्षेत्रको पनि रहेको सरोकारवाला निकायहरुको भनाइ छ ।

उनीहरुले भैरहवा विमानस्थल चलायमान हुँदा सबैभन्दा धेरै नाफा निजी क्षेत्रलाई हुने भएकाले अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन राज्यसँगै निजी क्षेत्रले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै यहाँ होटेल, ट्राभल एजेन्सी लगायत विभिन्न क्षेत्रमा लगानी वृद्धि भएको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालनमा गर्न स्थानीय विभिन्न संघसंस्थाले धर्नादेखि प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।



नयाँ